Home Main Highlight News फ्राइडे रिलिज : सिनेमा हलमा भूठान र खेल

फ्राइडे रिलिज : सिनेमा हलमा भूठान र खेल

by Parda Sansar
A+A-
Reset

झापा । फ्राइडे रिलिजमा शुक्रबार सिनेमा हलमा दुई चलचित्र ‘भूठान’ र ‘खेल’ रिलिज हुँदैछन् । यी दुवै चलचित्रलाई प्रिमियर शोमा प्रशंसा मिलेको थियो ।

अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’को मङ्गलबार साँझ प्रिमियर गरिएको थियो । चलचित्र हेरिसकेपछि अधिकांशले देशको माटो र त्यसको पहिचान गुमाउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा चलचित्रले दर्शाउन खोजेको बताएका थिए । निर्देशक विनोद पौडेलले सुन्दर ढङ्ग चलचित्र प्रस्तुत गरेकोमा प्रशंसा पाएका थिए ।
विनोद पौडेल निर्देशित ‘भूठान’ अङ्ग्रेजीमा ‘दी वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ मा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीको अभिनय रहेको छ । चलचित्रमा हलिउडका अभिनेता बु्रस डर्नलाई विशेष भूमिकामा देख्न सकिन्छ । भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीको देशप्रेम र आफ्नो थातथलो छोड्नु पर्दा घर हराएको कथा चलचित्रले उठान गरेको छ ।
चलचित्रका निर्मातामा अविरल थापा, सुशाङ्क मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा रहनुभएको छ भने चलचित्रलाई सुसन प्रजापतिले खिच्नुभएको छ ।
त्यस्तै, चलचित्र ‘खेल’को बुधबार काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको थियो । प्रिमियरमा ‘खेल’का प्रमुख कलाकारहरू सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम लगायतको उपस्थिति रहेको थियो । प्रिमियरकै लागि भारतबाट यसका निर्देशक अनुराग प्रधान उपस्थित रहे भने अर्की निर्देशक आस्था श्रेष्ठसहित निर्माण टिम सहभागी रह्यो । प्रिमियरमा निर्देशक प्रधानले आफूले बलिउडमा सिकेको ज्ञान नेपाली चलचित्रमा लगाएको बताए । अभिनेत्री सुरक्षा पन्तले युवाहरूले सच्चा मनले यो चलचित्र बनाएको बताइन् ।
मिथिकल सस्पेन्स थ्रीलर जनराको ‘खेल’लाई हलिउड चलचित्रको स्तरसँग तुलना गर्दै यसको कथा, पटकथा, संवाद, छायाङ्कन, सम्पादन, कलर र चलचित्रको टोनको प्रशंसा भएको छ । मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ लगायतको समेत अभिनय रहेको ‘खेल’ लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन् । चलचित्र सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो, जसका निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह-निर्माताहरू कुणालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । चलचित्रको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका हुन् ।
चलचित्रको छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन् । ध्वनि डिजाइन विकल प्रधान, रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, मेकअप दिपु पौडेलले गरेका छन् ।
सिनेमा घरमा यसअघि रिलिज भएका ‘पिताम्बर’, ‘अञ्जिला’ र केही हलमा ‘लाजशरणम्’ प्रदर्शनरत छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link