काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्ता तथा गोल किपर एन्जिला तुम्बापोले खेलाडी बन्न गरेको संघर्षको प्रेरणादायी कथा लिएर आएको चलचित्र ‘अञ्जिला’ सातौँ हप्तामा सफलतापूर्वक प्रदर्शनरत छ । विभिन्न हलमा अहिले पनि यो चलचित्रले ४० शो पाइरहेको छ ।
भोजपुर नगरपालिकामा यो चलचित्रलाई विशेष रूपमा प्रदर्शन गरिएको छ । नगर प्रमुख कैलाश कुमार आलेको उपस्थितिमा डिजिटल स्क्रिन र साउन्ड सिस्टमयुक्त नगरपालिका हलमा यो चलचित्रलाई ५ सय दर्शकको सहभागितामा चौथो पटक प्रदर्शन गरिएको निर्देशक मिलन चाम्सले बताए ।
भोजपुर, जहाँ पहिले चलचित्र हल थियो तर, विविध कारणले बन्द भयो, यहाँ लगातार शोहरु हुनु गौरवको विषय रहेको निर्देशक चाम्सले बताए । ‘आठौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप’को अवसरमा गरिएको यस विशेष शोबाट उठेको मुनाफा चलचित्रकी मुख्य पात्र एन्जिला तुम्बापो सुब्बाको घर निर्माणमा खर्च गरिने पनि निर्देशकले जानकारी गराए ।
नगर प्रमुख आलेले राज्यले गर्नुपर्ने काम चलचित्र टिमले गरेको भन्दै एन्जिलाको घर निर्माणका लागि नगरपालिकाको तर्फबाट ५० हजार रुपैयाँ नगद सहयोग गर्ने घोषणा पनि गरे । चलचित्र युनिटले वैशाख १९ गते चलचित्र प्रदर्शनको ५१ औँ दिन विशेष सेलिब्रेशन कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।
गत वर्षको अन्त्यतिर फागुन २९ गते प्रदर्शनमा आएको भए पनि ‘अञ्जिला’ ले वर्ष २०८१ को उत्कृष्ट पाँच चलचित्रको सूचीमा आफ्नो स्थान सुरक्षित गरेको छ र वितरकका अनुसार यसको ग्रस व्यापार १० करोड नाघिसकेको छ ।
‘अञ्जिला’ मा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ, निर्माता प्रेमकुमार श्रेष्ठ लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ । (सेलिब्रेटी नेपाल)