काठमाडौँ । ‘जात्रा’ फ्रेन्चाइज जस्तो सफल व्यवसायिक फिल्म निर्माण गरेको निर्माता कम्पनी ‘षट्कोण आर्ट्स’ले शुक्रबार आगामी कथानक फिल्म ‘लालीबजार’ ल्याउने घोषणा गरेको छ ।
यो फिल्मलाई यम थापाले लेखन तथा निर्देशन गर्दैछन् । म्याक्स दिपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेको फिल्ममा प्रदीप भट्टराई कार्यकारी निर्माता छन् ।
लेखक तथा निर्देशक थापा अञ्जिला, कोहिनुर, ह्याप्पी डेज, के म तिम्रो होइन र सहितका १२ चर्चित फिल्मका लागि परिचित छन् । ‘कोहिनुर’बाट फिल्म लेखनमा डेब्यु गरेका उनले लेखेको पछिल्लो फिल्म ‘अञ्जिला’ २०८१ सालको सुपरहिट फिल्म हो ।
राजारानी, हुर्रे र मेरी मामु थापाले निर्देशन गरेका फिल्म हुन् ।
निर्माता बानियाँले यसबारे भने, ‘राम्रो कथा दर्शकसम्म जानबाट बञ्चित नहोस् भनेर हामीले केही लेखक तथा निर्देशकसँग सहकार्यका लागि छलफल गरेका थियौँ । सोही क्रममा निर्देशक थापाले पठाउनु भएको स्क्रिप्टले हामीलाई आकर्षित गर्यो । उहाँले स्क्रिप्ट लिएर काम गर्नुस् भन्नुभएको थियो तर हामीले नै निर्देशन गर्न आग्रह गर्यौ ।’
फिल्म घोषणासँगै निर्माताले टिजर पोस्टर सार्वजनिक गरेका छन्, जसमा पहेँले रङको पृष्ठभूमिमा चुरा, लिपिस्टिकसहितका महिलाको सौन्दर्य प्रशाधनका सामग्री देख्न सकिन्छ । शीर्षक र टिजर पोस्टरले फिल्मको केन्द्रमा महिला रहेको बुझ्न सकिन्छ ।
निर्माता म्याक्सले ‘सोसल ड्रामा’ जनरामा फिल्म बन्न लागेको बताए ।
कलाकार छनोट प्रक्रियामा रहेको उनको भनाइ छ । दशैंपछि छायांकन सुरु हुने जानकारी उनले दिए । षट्कोण आर्ट्स एकल निर्माता भएर निर्माण गरिरहेको ‘लालीबजार’ पाँचौं फिल्म हो । यसबाहेक ‘टलकजङ्ग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मङ्क’ लगायतका फिल्ममा अन्य व्यानरसँग सहकार्य गरेको छ ।
चलचित्र विकास बोर्डको डेटाअनुसार षट्कोण आर्ट्सले गत माघ महिनाको २ गते तीन फिल्मको लागि निर्माण इजाजत लिएको थियो जसमा दुलही, सटाहा र महारानी थिए ।