काठमाडौं । हिन्दु धर्मसँग सम्बन्धित व्यक्ति तथा संस्थाको दबाबपछि फिल्म ‘जनै हराएको बाहुन’ले शीर्षकमा केही परिवर्तन गरेको छ । शीर्षकबाट ‘बाहुन’ शब्द हटाएर ‘मान्छे’ राखिएको छ ।
अब यो फिल्मको नाम राखिएको छ- ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू ।’ गतवर्ष ‘पूर्णबहादुरको सारंगी’जस्तो सर्वकालिन ब्लकबस्टर फिल्म दिएका अभिनेता विजय बरालले लगत्तै यो फिल्म साइन गरेका थिए ।
निर्माताले प्रेषित गरेको विवरणमा जनाइए अनुसार हिन्दु धर्मसँग सम्बन्धित व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा मान्छे राखिएको जनाइएको छ ।
नाम परिवर्तन गर्दै निर्माताले सोमबार टिजर पोस्टर सार्वजनिक गरेका छन् जसमा बराललाई ‘क्यारेक्टर लुक्स’मा चित्रण गरिएको छ । यो फिल्मको प्रदर्शन ६ भदौलाई तय छ ।
हालै छायांकन सकिएको यो फिल्मको अहिले पोस्ट-प्रोडक्सन कार्य भैरहेको छ । हिमाल न्यौपाने निर्देशित फिल्मलाई काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको थियो ।
यो फिल्मले आमा र छोराबीचको भावनात्मक कथा पेश गर्ने जनाइएको छ । फिल्ममा केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटाको मुख्य भूमिका छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिल्सिना र चुडामणि सिवाकोटी छन् ।