काठमाडौं । वैदेशिक रोजगारीको यथार्थलाई पर्दामा उतारिएको फिल्म ‘रियाल रिंगेट’को टिजर सार्वजनिक भएको छ ।
साउन १६ गतेदेखि प्रदर्शन तयारीमा रहेको यो फिल्मको टिजरलाई निर्माता कम्पनी रेबेल फिल्म्सले युट्युबमा सार्वजनिक गरेको हो । मर्मस्पर्शी टिजरले दर्शकमा प्रभाव पार्ने अपेक्षा छ ।
टिजरले नेपाली युवाको सपना, संघर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई नजिकबाट देखाएको छ । नेपालमा रोजगारीको समस्याले पिरोलिएका युवा कसरी विदेश पलायन हुन बाध्य हुन्छन्, परिवारसँगको वियोग र विदेशमा उनीहरूले कस्ता चुनौती सामना गर्नुपर्छ भन्ने कुरालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ ।
विभोर पोखरेल निर्देशित यो फिल्ममा प्रमोद चौलागाईं, नीता ढुंगाना, छुल्ठिम गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सुवास सिह ठकुरी लगायतको अभिनय रहेकाेछ ।
पटकथा प्रदीप भारद्वाजको छ । फिल्मको नाम नेपाली श्रमिकको उच्च संख्या रहेका मुलुक कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ तथा मलेसियाको मुद्रा ‘रिङ्गेट’ को मिश्रणबाट बनेको छ ।
निर्माता गगनलाल प्रधान हुन् । रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको नृत्य छ । गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत छ भने सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर सुन्न सकिनेछ । गीतका शब्द अमर न्यौपाने, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन् ।
भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायाङ्कन गरिएको यो फिल्मलाई काफिया फिल्म्सले वितरण गर्दैछ ।