काठमाडौं । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार सिनेमाको करिब २ मिनेट लामो टिजर सार्वजनिक गर्दै निर्माण टिमले सिनेमाको प्रदर्शन मिति समेत एक हप्ता सारेको छ ।
अब यो चलचित्र भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । टिजरले नेपालको सांस्कृतिक पक्षसँगै केही रहस्यमय कुरा बताउँछ । ग्रामीण परिवेश, प्रेम, पीडा र बदलाको भाव टिजरमा देख्न सकिन्छ ।
गुरुङ संस्कारलाई विशेष रुपमा प्रस्तुत गरिएको टिजरले चलचित्रप्रति दर्शकमाझ उत्साह पैदा गर्ने विश्वास निर्माण टिमको छ । गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, रिताष्मा गुरूङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।
उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।