काठमाडौं । फिल्म ‘शिवांशः च्याप्टर–१’ को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरी छायांकन सुरु भएको फिल्मको ३६ औं दिन खिचिएपछि इण्डकल्याप गरिएको हो ।
पोखरा आसपासमा छायांकन गरिएको फिल्मको सिनदेखि गीतसम्मको दृश्य खिचिएपछि पूणरुपमा छायांकन सम्पन्न भएको निर्माता अञ्जान केसीले जानकारी गराए ।
‘हामीले पोखराको पामेमा सिनेमाकै एउटा ‘उकुस मुकुस’ बोलको गीतको छायांकनसँगै कुनै बाधा(अड्चन बिना हामीले दिनरात नभनी छायांकन सम्पन्न गर्न सफल भयौँ,’ उनले भने, ‘अब पोस्ट–प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ ।’
फिल्मको कथा निर्माता अञ्जान केसी स्वयंले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको छ । सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । फिल्मको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । फिल्मका कार्यकारी निर्माता सम्भू थापा हुन् ।
सरद महतो डीओपी रहेको चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहेको छ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको छ भने राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।
मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको कोरियोग्राफी रहेको फिल्ममा विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर, भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) छन् ।
चलचित्र चौतारीले पोस्ट प्रोडन्सनको काम गर्नेछ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।