बिर्तामोड । झापामा पहिलो पटक नेवा: देय् दबू झापाको आयोजनामा हास्यव्यङ्ग्य प्रस्तुतिसहितको ‘गाईजात्रा उत्सव’ हुने भएको छ । बिर्तामोडमा बिहीबार पत्रकार सम्मेलन गरी आगामी साउन २४ गते गाईजात्रा उत्सवसँगै लाखे नृत्य प्रतियोगिता समेत हुने आयोजक संस्थाले जानकारी गराएको हो ।
कार्यक्रम संयोजक तथा नेवा: देय् दबु कोशी प्रदेशका निवर्तमान अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले गाईजात्राको अवसरमा हास्यव्यङ्ग्य सुन्ने र सुनाउने कार्यक्रमको झापामा सुरुवात गर्ने उद्देश्यसहित यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिइने जानकारी दिनुभयो । सो कार्यक्रममा साहित्यकारहरु होम सुवेदी, चूडामणि वशिष्ठ, गणेश निरौला, केशव आचार्य, टंक विकल्प, पिनाकी कोइराला, मदन भण्डारी, विकास शिवा, रहस्य विक्रम चिमरिया, राजीव हलवाई, परिक्रमा श्रेष्ठ, जीवनकुमार श्रेष्ठ, कृष्ण अनमोल, सुरेन्द्र श्रेष्ठ गरी १४ जना साहित्यकारले हास्यव्यङ्ग्य प्रस्तुति रहने उहाँले बताउनुभयो ।
कार्यक्रममा दबूका कोशी प्रदेश सदस्य तथा झापा इन्चार्ज भरतकुमार श्रेष्ठले नेवारी संस्कृति र लाखे नृत्य उत्पतिका बारेमा चर्चा गर्नुभयो । उहाँले झापामा झन्डै ३० हजार हाराहारी सङ्ख्यामा नेवार रहेको बताउँदै संस्कृति संरक्षणका निम्ति यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा औचित्यबारे प्रकाश पार्दै दबूका झापा अध्यक्ष यामकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो । दबूका झापा सचिव लक्ष्मण ज्वयल श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रचार प्रसार संयोजक ओमप्रकाश श्रेष्ठले कार्यक्रममा उत्साहपूर्वक सहभागिताका लागि सबैमा अपील गर्नुभएको छ । कार्यक्रममा सहआयोजक संस्था नेवा: मिसा दवू झापा अध्यक्ष तिलरुपा श्रेष्ठ, नेवा: देय दबू बिर्तामोडका अध्यक्ष टेकबहादुर श्रेष्ठको सहभागिता रहेको थियो ।
त्यस्तै वरिष्ठ साहित्यकार केशव आचार्य, नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष प्रेम घिसिङ, मेचे शिवियारी आफतका केन्द्रीय अध्यक्ष विरेन मेचे, दबूका कोशी प्रदेश सचिवालय सदस्य छत्रबहादुर श्रेष्ठ, पूर्वसदस्य केशवकुमार ताम्राकार लगायतको आतिथ्यता रहेको थियो ।