काठमाडौं । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘३६ को आँकडा’ मा अभिनय गर्नका लागि अभिनेत्री निरुता सिंह काठमाडौं आइपुगेकी छिन् ।
मुम्बईबाट आइतवार राति काठमाडौं आएकी निरुताले पत्रकारहरुसँग कुरा गर्दै आफू नयाँ फिल्मका लागि अत्यन्तै उत्साहित रहेको बताइन् । निरुताले आफू नेपाली फिल्मभन्दा टाढा बस्न नसक्ने स्पष्ट पारिन् ।
यो फिल्ममा निरुताको भूमिका के हो भन्ने खुलेको छैन । निर्देशक सविर श्रेष्ठले पनि निरुताको भूमिका अहिले नै खुलाउन नमिल्ने सुनाए । निरुतालाई फिल्ममा लिनुको कारणबारे सविर भन्छन्– ‘मैले सहायक निर्देशकको रुपमा निरुता दिदीसँग केही फिल्ममा काम गरेको थिएँ । तर, निर्देशक भएपछि काम गर्न पाएको थिइनँ । कुनै कुनै भूमिकामा विशेष कोही कलाकारको मात्र आवश्यकता पर्ने रहेछ । यो फिल्ममा पनि निरुता दिदी नै चाहिने भूमिका छ । यसैले, उहाँलाई हामीले आग्रह गरेका हौं ।’
यो फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतका कलाकारहरुको पनि अभिनय छ । रेखा थापा र निरुता सिंहले फिल्म ‘दुई पल’ पछि एकसाथ पर्दा शेयर गरेका छैनन् । अब भने यी दुई स्टारले एकसाथ काम गर्दैछन् ।
अनिभेत्री सिंहले फिल्म ‘दाल भात तरकारी’ पछि नयाँ फिल्ममा काम गरेकी छैनन् । अब भने उनी आजदेखि छायांकनमा जान लागेको फिल्म ‘३६ को आँकडा’मा काम गर्न तयारी भएकी छिन् ।