बिर्तामोड । बिहीबारबाट नेपालसहित ४० भन्दा बढी देशमा एकैसाथ प्रदर्शनमा आउन लागेको सिनेमा “कोशेढुंगा” लाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने भएको छ ।
सिनेमाले जाँचपास समिति (सेन्सर बोर्ड)बाट यूनिभर्सल सर्टिफिकेट पाएसँगै सरोज पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रमा सबै उमेरका दर्शकले हेर्न पाउने भएका छन् ।
सिनेमाको टिजर, ट्रेलर तथा गीतसंगीतले दर्शकको मन जितिसकेको अवस्थामा प्रदर्शनमा आउन लागेको यो सिनेमाले व्यवसायिक सफलता हासिल गर्ने अनुमान गरिएको छ ।
महिला प्रधान विषयवस्तुमा रहेको चलचित्रको मुख्य भूमिकामा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।
प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको सिनेमा को कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायाङ्कन, नहकुल खड्काको सम्पादन रहेको सिनेमामा आशिष अविरल र रिदम कँडेलको संगीत रहेको छ ।
सिनेमालाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय वितरण अधिकार लिएको छ । सेभेन सिजका अनुसार सिनेमा नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० मुलुकमा एकसाथ प्रदर्शनमा आउनेछ ।
सिनेमाको छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी, सिरुवारी र काठमाडौँमा गरिएको हो । सिनेमाको अग्रिम बुकिङ समेत खुला गरिसकिएको छ । किर्तिमानी सिनेमा ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक सरोज पौडेलको लेखन र निर्देशनमा बनेको सिनेमा भएकाले पनि यो चलचित्रलाई बहुप्रतिक्षित चलचित्र मानिएको छ ।