बिर्तामोड । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘वरिष्ठ बलराम’को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भएको छ ।
चलचित्रमा मुख्य दुई कलाकार दयाहाङ राई र विजय बराल देखिएका छन् । एउटा पोस्टरमा दयाहाङ र विजय मात्रै छन् । रातो सुट र सर्ट-पाइन्टमा ठाँटिएका छन्, दयाहाङ । हातमा मोबाइल बोकेर उनी क्रुद्ध देखिएका छन् । विजय भने निराश देखिएका छन् ।
दोस्रो पोस्टरमा दयाहाङ र विजय दुवै सोचमग्न अवस्थामा छन् । यो पोस्टरमा समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरी फिचर्ड छन् । उनीहरूलाई क्यारेक्टरमा देख्न सकिन्छ ।
सार्वजनिक गरिएको टिजरमा भने दयाहाङ राई र विजय बराललाई ग्याङस्टरकाे रूपमा केही नोकझोँकका साथ देख्न सकिन्छ । सधैँजसाे दया र विजयलाई साथीकाे रुपमा देख्दै आए पनि याे फिल्ममा प्रतिद्वन्द्वीकाे रूपमा देख्न पाइने भएकाे छ । यसले चलचित्र प्रतिको उत्सुकतालाई बढाएको छ ।
‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुँदैछ । अहिले यो चलचित्र पोस्ट प्रोडक्सनमा रहेको छ । जसको निर्देशक सुरेन्द्र पौडेल हुन् । दृश्य सम्पादक समेत रहेका पौडेलले यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका थिए । वरिष्ठ बलरामको पटकथा महेश दवाडीले लेखेका हुन् ।
वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् । कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे रहेका छन् ।
सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ को छायाकंन चितवनका विभिन्न स्थानमा गरिएको हो । मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेका छन् । प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन यस चलचित्रमा रहेको छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्ने तयारी रहेको छ ।