बिर्तामोड । आगामी कात्तिक ७ गतेदेखि प्रदर्शनमा आउन लागेको विल्सन विक्रम राई निर्देशित चलचित्र ‘मैझारो’को टिजर सार्वजनिक भएको छ ।
घटस्थापनाको अवसर पारेर झन्डै २ मिनेटको टिजर सार्वजनिक गरिएको हो । टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर, मिरुना मगर तथा दिया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ । जसमा इलामको हरियाली मनोरम दृश्य, चिया बगान, गाउँले परिवेश अनि सांस्कृतिक पहिरन देख्न सकिन्छ ।
धिरज र मिरुनाको प्रेम कै विषयलाई लिएर ‘मैझारो’ टाइटल राखिएको अनुमान लगाउन सकिन्छ । उनीहरुको बीचको प्रेमको मैझारो गर्नुपर्ने अवस्था किन आउँछ भन्ने कौतुहलता टिजरले गराएको छ । टिजरमा कुनै बाध्यताले धिरज दिया पुनसँग नजिकिएको देख्न सकिन्छ ।
विल्सन विक्रम राई अर्थात तक्मे बुढा भन्ने बित्तिकै कमेडी शैलीको फिल्म आउला भन्ने दर्शकको अनुमान थियो । तर उनले टिजरमा बिल्कुलै फरक मौलिक प्रेम कथामा प्रस्तुत गरेका छन् ।
फिल्ममा नेपाली माटोको कथा भन्न उनी निकै सिपालु देखिएका छन् । डेब्यु निर्देशन भए पनि उनको काम टिजरसम्म आइपुग्दा अब्बल देखिएको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म ‘मैझारो’ निर्देशक राईकै कथामा निर्माण भएको हो । फिल्ममा धिरज, मिरुना र दियाका साथमा दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भुपेन्द्र लिङदेन, विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ । राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको मीठो स्वर रहेको निर्माण टिमले जनाएको छ । सौरभ लामाले छायांकन गरेका फिल्मको वितरण आरआर फिल्मले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ ।