काठमाडौं । कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने तयारीमा रहेको चलचित्र ‘सोल्टिनी’को ट्रेलर सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ ।
निर्देशक अर्जुन सुवेदी, अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बु, अभिनेता विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, अभिनेत्री सबु गुरुङलगायतको सो समारोहमा उपस्थिति रहेको थियो ।
ट्रेलरमा एक अर्ग्यानिक नेपाली प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा सामाजिक र पारिवारिक अप्ठेराबिच अंकुरिएको प्रेमको संवेदनशील चित्रण गरिएको छ । ट्रेलरले अन्तरजातीय प्रेममा देखा पर्ने सामाजिक विभेद, समुदायबिचको असमानता र त्यसले निम्त्याउने सङ्घर्षपूर्ण परिस्थितिलाई उजागर गरेको छ । कथा मुख्यत: अभिनेत्री परीक्षा लिम्बुको वरिपरि केन्द्रित छ, जहाँ उनी र अभिनेता प्रकाश सपुतबिचको प्रेमकथा चलचित्रको मुख्य धागोका रूपमा प्रस्तुत गरिएको छ ।
‘सोल्टिनी’लाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । लेखनमा अर्जुन र कुमार भट्टराई रहेका छन् । प्रकाश सपुत र परीक्षा लिम्बुसँगै सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ ।