बिर्तामोड । कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने चलचित्र ‘सोल्टिनी’को नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक भएको छ ।
गीतमा शब्द तथा सङ्गीत प्रशान्त सिवाकोटीको रहेको छ भने स्वरमा उनलाई झुमा लिम्बुले साथ दिएका छन् ।
अन्तरजातीय प्रेमकथामा आधारित यस फिल्ममा सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने संघर्ष देख्न सकिने निर्माण टिमले जनाएको छ ।
अर्जुन सुवेदी निर्देशित यो फिल्ममा प्रकाश सपुत र परीक्षा लिम्बु मुख्य भूमिकामा छन् । उनीहरूसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायत कलाकारको पनि अभिनय रहेको छ ।
यसैबीच, फिल्म ‘सोल्टिनी’ को प्रमोसन अभियानअन्तर्गत कलाकार टोली देशका विभिन्न सहरमा देउसी-भैलो कार्यक्रममा सहभागी हुने भएको छ । पहिलो दिन कार्तिक २ गते झापाको दमक, दोस्रो दिन कार्तिक ३ गते सुनसरीको धरान, तेस्रो दिन कार्तिक ४ गते कास्कीको पोखरा र चौथो दिन कार्तिक ५ गते काठमाडौंमा देउसी-भैलो आयोजना गरिएको ‘सोल्टिनी’ का प्रोजेक्ट सुजन खतिवडाले बताए ।
उनका अनुसार, यी कार्यक्रममार्फत दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै फिल्मप्रति सकारात्मक ऊर्जा साट्ने र सांस्कृतिक वातावरणमा नेपाली चलचित्रको प्रचार गर्ने उद्देश्य रहेको छ ।

