काठमाडौं । प्रतीक्षित सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौं सिजनलाई बिहीबार ग्राण्ड प्रिमियर गरिएको थियाे । आइएनआई सिनेमाजको जमलस्थित विश्वज्योती हलमा आयोजित प्रिमियर समारोहमा सेलिब्रेटी, संचारकर्मी र प्रायोजकको सहभागिता रह्यो । उक्त अवसरमा सिजनको पहिलो एपिसोड प्रदर्शन गरिएको थियो ।
निर्देशक लक्ष्मण पौड्यालले सातौं सिजनमा नयाँ प्रतिभा र स्वरको उत्साहजनक सहभागिता रहेको बताए । चारैजना कोच यसअघि विजेता भैसकेकाले यो सिजन निकै प्रतिस्पर्धात्मक हुने उनले बताए । कोच प्रमोद खरेल र राजु लामाले पनि नयाँ सिजनमा कडा प्रतिस्पर्धा हुने बताए । यी दुबैजना कोच नयाँ सिजनमा फर्किएका हुन् । ‘प्रतिस्पर्धा कडा हुने भएपनि कुनै दबाब विना म देखिनेछु’ कोच प्रमोदले भने ।
सो अवसरमा हिमालय टिभीका तर्फबाट अध्यक्ष धर्मराज भुसाल र प्रायोजकहरूले सम्झौता पत्रमा हस्ताक्षर गरे । सातौं सिजनको शीर्ष प्रायोजक भेसलिन रहेको छ । भेसलिनका प्रमुख वित्तिक अधिकृत आयुष शर्माले स्वस्थ आवाजजस्तै स्वस्थ छाला जरुरी रहेको बताए । ‘भ्वाइससँग सहकार्य गर्न पाएकोमा हामी खुसी छौं’ उनले भने ।
पहिलो एपिसोड रोचक देखियो । बुद्धि परियारको बहुचर्चित गीत ‘रेशम फिरिरी’लाई चारैजना कोचले गाउँदै सिजनको सुरुवात गरे । सातौं सिजनमा ‘सुपर ब्लक’ नामक नयाँ नियम ल्याइएको छ । यसको अर्थ, कुनै कोचलाई अर्को कोचले आफ्नो विशेषाधिकार प्रयोग गरेर कुर्सी उल्टो घुमाइदिएर प्रतिस्पर्धी छनोटमा रोक लगाउन सक्छ ।
पहिलो एपिसोडमा आफूले झुक्किएर ‘सुपर ब्लक’को बटन थिचेको कोच राजुले बताएका छन् । उनलाई यसबारे पत्रकारले पनि प्रश्न गरेका थिए । उनले झुक्किएर भन्ने जवाफ दिएका थिए । शुक्रबारदेखि ब्लाइन्ड अडिसन प्रसारण हुनेछ । त्यसपछि ब्याटलसहितका प्रतिस्पर्धामा शो अघि बढ्नेछ । द भ्वाइस अफ नेपालको सातौं सिजन हिमालय टिभीमा प्रत्येक शुक्रबार र शनिबार राती ८ बजेदेखि प्रसारण हुने जनाइएको छ ।

