Home Main Highlight News जारी २ अब डिरेक्टर्स कट भर्सनमा रिलिज हुने
 

जारी २ अब डिरेक्टर्स कट भर्सनमा रिलिज हुने

मिरुना र निर्देशक सुब्बाले बिर्तामोडमा भेटे दर्शक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । चलचित्र जारी २ को टिमले सोमबार बिर्तामोडस्थित पाथिभरा सिनेप्लाजा र क्युएफएक्स सिनेमामा दर्शकसँग भेटघाट गरेको छ । टिममा चलचित्रका निर्देशक उपेन्द्र सुब्बा, अभिनेत्री मिरुना मगर, कलाकार भूपेन्द्र तुम्बाहाम्फे लगायतको उपस्थिति रहेको थियो ।

मोफसलमा पहिलोपटक हल भिजिटमा निस्कनु भएका निर्देशक उपेन्द्र सुब्बाले सोही क्रममा जारी २ लाई ‘डिरेक्टर कट भर्जन’ मा रिलिज गरिने बताउनु भएको छ । अहिले चलिरहेको फिल्ममा केही सिनहरु थप भई निर्देशकले देखाउन चाहेको फिल्म यसमा देख्न सकिने उहाँको भनाइ छ ।

फिल्मलाई कमर्सियल गर्नका लागि केही सिनहरु छाँटकाँट गरिएको थियो, अब ती सिनहरुसहितको फिल्म रिलिज गर्दैछौ“’, उहाँले भन्नुभयो । यस चलचित्रमा १० वर्षे द्वन्द्वकालका क्रममा भएको साँस्कृतिक क्षतिलाई देखाउने आफ्नो प्रयास रहेको उहाँले बताउनुभयो ।

अभिनेत्री मिरुना मगरले जारी २ प्रतिको दर्शकको मायाप्रति सम्मान जनाउँदै धन्यवाद व्यक्त गर्नुभयो । ‘एउटा स्ट्रङ गाउँले महिला क्यारेक्टर ‘हाङमा’लाई दर्शकले यति धेरै माया दिनुभयो, एकदमै खुशी लागेको छ’, उहाँले भन्नुभयो ।

दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका छन् । अहिले चलचित्र जारी २ उच्च शोसहित हाउसफुलका साथ चलिरहेको छ । जसमा दयाहाङ राई, विजय बराल, प्रेम सुब्बा, रिचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, रेखा लिम्बू, सिर्जना निङ्लेकु लगायतको अभिनय रहेको छ । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको संयुक्त व्यानरमा बनेको यस चलचित्रको निर्मातामा रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ रहेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link