बिर्तामोड । प्रबिन श्रेष्ठको निर्देशनमा निर्माण हुने सिनेमा ‘बब डाइ’को छायांकन सुरु भएको छ । यो सिनेमाको गत सोमबार शुभमुहूर्तसहित छायांकन सुरु गरिएको हो । चन्द्रागिरीबाट छायांकन सुरु गरिएको ‘बब डाइ’को ४५ दिनको छायांकन तालिका राखिएको छ । यो सिनेमाको सम्पूर्ण छायांकन काठमाडौंको किर्तिपुर र चन्द्रागिरी आसपासमा हुने निर्माण टिमले जनाएको छ ।
निर्देशक श्रेष्ठ ‘मोक्ष’ रिलिजको १२ बर्षपछि निर्देशनमा कमब्याक गर्दैछन् । निर्देशक श्रेष्ठका अनुसार ‘बब डाइ’ किर्तिपुरकै कथा आधारित छ । सिनेमाको नामबारे निर्देशक श्रेष्ठ भन्छन्, ‘खासमा बब डाइ भनेको बब दाई हो । नेवारी ट्युनमा दाईलाई डाइ भनिने भएकाले नाममा त्यसरी राखेका हौं ।’ सिनेमामा ‘बब डाइ’को भूमिकामा सौगात मल्ल देखिनेछन् ।
रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने सिनेमामा सौगातसहित सिम्रन पन्त, सन्तोष पन्त, बिशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्ण भक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन र बाल कलाकार अग्रिम पन्डितको अभिनय रहनेछ ।
राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता तथा रबिन्द्र प्रजापती कार्यकारी निर्माता रहेको सिनेमामा मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा लेखन छ । श्याम तामाङको टिमको छायांकन रहेको सिनेमाको सम्पादन निर्देशक श्रेष्ठले नै गर्नेछन् ।
सिनेमामा निरपेश रुपाखेतीको कास्टिङ डिरेक्टर, सुरेन्द्र महर्जनको प्रोडक्सन म्यानेजर, रोयल भिमसेनको पोस्टर डिजाइन, सृष्टि महर्जनको कोरियोग्राफी रहनेछ । सिनेमाको प्रदर्शन मिति तोकिएको छैन ।

