झापा । विपना थापा तथा पल शाहको मुख्य भुमिकामा रहेको फिल्म ‘आ बाट आमा’मा नेवारी गीत राखिने भएको छ। निर्माण टिमले यस फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा ’लाई नेवारी भर्सनमा पनि रेकर्ड गराएको छ।
रिलिज भएसँगै चर्चामा रहेको यस गीतलाई निर्देशक चन्द्र पन्तले नेवारी समुदायलाई लक्षित गर्दै नेवारी भाषामा यो गीत रेकर्ड गरेका छन्। गीतलाई यमन श्रेष्ठले नेवारी भर्सनमा गाएका हुन् । बाबुल गिरीको शब्द रचनामा नेपाली भाषामा गाएको यो गीतलाई यमनले नेवारीमा गाउने भएका छन् ।
नेपाली भाषामा यो गीतलाई गायक रवि ओडले गाएका छन् । आफ्नो सन्तान परदेशिन लाग्दा नेपालमा रहेका बुबाआमाको मनसँग फिल्मको कथा बुनिएको छ। आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यसमा फिल्म विपना थापा,पल शाहको मुख्य भूमिका रहेको छ। यतिबेला यो फिल्मलाई व्यापक प्रचारप्रसारमा अभिनेता पल शाह, विपना थापा सहित अन्य निर्माण टिम लागि परेका छन् ।
निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्।
नवराज उप्रेतीको डिओपी रहेको यस फिल्ममा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्।
फिल्मको सम्पादनको काम मिलन श्रेष्ठको छ भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन्।आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको हातमा रहेको छ।
