झापा । साइकोलोजिकल थ्रिलर फिल्म ‘द ब्ल्यू लाइट’ को पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले युट्युब च्यानल ‘मौरी पिक्चर्स’मार्फत ‘कुन हावाले’ बोलको गीत रिलिज गरेको हो।
सितुस्मा अधिकारीको शब्द र एसडी योगीको संगीत रहेको गीतमा सलिना बिकेको स्वर छ। वियोगान्त भावको यो गीतले प्रेममा धोका र सपना भत्किँदाको पीडालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरेको छ।
गीतको भिडियोमा मुख्य कलाकारहरू आयुष्मान देशराज जोशी, बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठलाई फिचर गरिएको छ। वाचा पूरा नगरी हिँड्ने प्रेमीको खोजी र उसको पर्खाइमा तड्पिरहेको पात्रको मानसिक अवस्थालाई गीतमा समेटिएको छ। चोखो प्रेमको गहिराइ बुझ्ने र त्यसलाई खेलवाड सम्झनेबीचको अन्तरलाई भिडियोले प्रष्ट्याउने कोसिस गरेको छ।
बलिराम चौहानको निर्देशनमा तयार भएको यो फिल्म आगामी माघ १६ गते देखि देशभर प्रदर्शन हुँदैछ। फिल्ममा आयुष्मान, बेनिशा, अर्पण र सृष्टिका साथै महेश त्रिपाठी र सुरक्षा इटानीको पनि मुख्य भूमिका छ। स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्ममा अभिनेत्री बेनिशा हमाल र छायाकार नरेन्द्र मैनाली कार्यकारी निर्माताका रूपमा छन्।
