विर्तामाेड । आउँदो वर्षको जेठ १ गते रिलिज हुने फिल्म ‘एक मुठ्ठी बादल’को पहिलो गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक भएको छ । मिना पोखरेल र इन्द्रकला राईको स्वर रहेको गीतमा हर्क साउदको शब्द र सुमित पाठकको संगीत छ । गीतको भिडियोमा आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारी फिचर्ड छन् ।
गीतले एकाघरमा रहेका तीन पुस्ते महिलाको आवाजलाई प्रस्तुत गरेको छ । सुमित नेपाल आइडल सिजन २ उपविजेता हुन् । गायकको रुपमा पहिचान बनाएका सुमितले फिल्म संगीतमा सुरुवात गरेका हुन् ।
भिडियोले विवाहको अघिल्लो दिन हुने रमाइलोलाई पृष्ठभूमिको रुपमा प्रस्तुत गरेको छ । विवाहको तयारीसँगै सुरु हुने गीतमा निशा शर्मा, उषा रजक र आँचल शर्माले आफ्नो आफ्नो जीवन भोगाइलाई गति दिएका छन् ।
निर्देशक सहारा शर्माका अनुसार गीतमा अभिव्यक्त आवाज नै फिल्मको सार हो । उनले गीतकार हर्क साउदसँग विभिन्न चरणमा काम गरेको जानकारी गराउँदै गीतमा फिल्मको कथा अटाउने चाहाना चुनौतीपूर्ण रहेको स्मरण गरिन् ।
