इटहरी / इटहरीमा ‘मिस एसईई सिजन ६ इटहरी’ आयोजना हुने भएको छ । एसएलसीपछि विद्यार्थीहरूको खाली समयलाई उपलब्धिमूलक र सिर्जनात्मक काममा जोड्ने उद्देश्यले ओपन स्पेस प्रालिले यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
यसअघि पाँच संस्करण सफलताका साथ सम्पन्न गरिसकेको कम्पनीले छैठौं संस्करणको अडिसन यही चैत २८ गते शनिबार इटहरीस्थित मादेन इन होटलमा गर्ने तय गरेको छ ।
प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठका अनुसार यो प्रतियोगिता विद्यार्थीको प्रतिभा निखार्ने र उच्च शिक्षामा जानुअघि उनीहरूलाई मानसिक रूपले तयार गर्ने महत्वपूर्ण कार्यशालाको रूपमा अघि बढाइनेछ ।
प्रतियोगिताका लागि सहभागीहरूले विज्ञहरूबाट विभिन्न जीवनोपयोगी तालिमहरू प्राप्त गर्ने आयोजक कम्पनीका सिइओ सजिना श्रेष्ठ बताउँछिन् । कलिलो उमेरमै क्षमता पहिचान गर्न र समाजमा आफूलाई अब्बल साबित गर्न ‘मिस एसईई सिजन ६ इटहरी’ ले एउटा मजबुत पुलको काम गर्ने विश्वास गरिएको छ । विजेताले ३ लाख बराबरको विभिन्न पुरस्कारहरु प्राप्त गर्ने आयोजकले जनाएको छ ।



