Home Main Highlight News चलचित्र ‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा सँगै टाइटल पोस्टर सार्वजनिक
   

चलचित्र ‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा सँगै टाइटल पोस्टर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड ।  निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा गरिएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर सार्वजनिक गरिएको टाइटल पोस्टरसँगै सिनेमा आगामी भदौ २६ गते, नारीहरूको महान पर्व हरितालिका तीजको दिनदेखि देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो।

निर्देशक गुरुङका अनुसार वैशाख १ गते नेपाली नयाँ वर्षसँगै अभिनेता दयाहाङ राईको जन्मदिनसमेत पर्ने भएकाले सोही अवसर पारेर प्रदर्शन मिति घोषणा गरिएको हो। गुरुङ फिल्म क्षेत्रमा ‘गडफादर’ का रूपमा चिनिने निर्देशक गुरुङकै लगानीमा निर्माण भएको यस सिनेमामा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई र प्रतिक्षा गुरुङलगायतका कलाकारहरूको अभिनय रहेको छ। विश्वास गुरुङ र माया गुरुङले यसै चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गरेका हुन्।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको कथा पनि स्वयं निर्देशक गुरुङले लेखेका हुन्। शीर्षकले भूतपूर्व लाहुरेको कथा झल्काए पनि चलचित्रले लोभी युवक कसरी दानी बन्छ भन्ने प्रेरणादायी कथावस्तु प्रस्तुत गर्ने निर्देशकको भनाइ छ।

मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके) र सपना गुरुङको लगानी रहेको चलचित्रका प्रोडक्सन म्यानेजर डीबी गुरुङ हुन्। सुशन प्रजापतिले छायांकन गरिरहेको यस सिनेमामा कास्टिङ डाइरेक्टर सुरज तमु रहेका छन् भने संगीत मनोज थापा मगर, शिव बराइली र सुरुङ गुरुङले तयार पारिरहेका छन्।

सुरेन्द्र पौडेलले सम्पादन गरिरहेको यस चलचित्रका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link