काठमाडौं । यही बैशाख ११ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको लक्ष्मण सुनार निर्देशित चलचित्र ‘परालको आगो’को अग्रिम टिकट बुकिङ देशभर खुला गरिएको छ ।
हालसम्म फिल्मले देशभर एक सयभन्दा बढी शो पाइसकेको छ । दर्शकको चासो र उत्साहलाई मध्यनजर गर्दै हल सञ्चालकहरूले फिल्मलाई उच्च शो दिएका हुन् । शो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
१३५ मिनेटको रनटाइम रहेको यस फिल्मले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । सार्वजनिक ट्रेलर र गीतहरूले दर्शकमाझ सकारात्मक चर्चा बटुलिरहेको छ ।
गुरुप्रसाद मैनालीको कालजयी कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सृजना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय रहेको छ ।
हरि ॐ सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा लगानी सुशील पोखरेलको छ भने पटकथा तथा संवाद सुशील देवकोटाको रहेको छ । भिएफएक्समा समिर मिया र सत्यम रानाले काम गरेका छन् ।
टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका छन् । फिल्ममा पार्श्व संगीत किरण तुलाधरको रहेको छ भने संगीतमा शान्ति ठटाल, सत्य-स्वरुप आचार्य र प्रकाश सपुतको योगदान छ । गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन् ।
सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मको वितरण आरआर फिल्मसले नेपालभर गर्नेछ भने डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।
