काठमाडौं । रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ हरितालिका तीजको अवसरमा २६ भदौदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ ।
यो फिल्मबाट अभिनेत्री समेत रहेकी थापा ८ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी हुन् । यसअघि उनले ‘हिम्मतवाली’ र ‘मालिका’को निर्देशन गरेकी थिइन् ।
दिया एण्ड अमु फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसहित पूर्व मिस नेपालद्वय सृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठ, पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका रहेको छ । फिल्ममा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल पनि अभिनय छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय रहेको निर्माण पक्षले जनाएको छ ।
यो फिल्मलाई रिच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् । ध्रुव लम्सालको पटकथा लेखन रहेको फिल्मले सुमधुर प्रेमकथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई चित्रण गर्ने दाबी गरिएको छ । निर्मातामा हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ रहेका छन् ।
