लस एन्जलस । ‘पपका राजा’ माइकल ज्याक्सनको जीवनमा आधारित फिल्म ‘माइकल’ले उत्तर अमेरिकी बक्स अफिसमा पहिलो दिनदेखि नै दबदबा बनाएको छ । लायन्सगेटको निर्माणमा बनेको यो फिल्मले शुक्रबारको कमाइमा अन्य फिल्मलाई पछाडि पार्दै शीर्ष स्थान कब्जा गरेको हो ।
निर्देशक एन्टोनी फुक्वाको फिल्मले उत्तर अमेरिकाका ३,९५५ हलबाट पहिलो दिनमै ३९.५ मिलियन डलर कमाएको छ । प्रारम्भिक अनुमानअनुसार आइतबारसम्म फिल्मले ९० देखि १०० मिलियन डलरसम्म कमाउने देखिएको छ ।
यससँगै संगीतमा आधारित बायोपिकमध्ये यो सबैभन्दा ठूलो ओपनिङ हुने संकेत देखिएको छ । यसअघि ‘बोहिम्यान र्याप्सोडी’ले ५१ मिलियन र ‘स्ट्रेट अट्टा क्याम्प्टन’ले ६० मिलियन डलरको ओपनिङ गरेका थिए ।
यो फिल्मको निर्माण लागत झण्डै १५५ मिलियन डलर छ । महँगो संगीत अधिकार र ठूलो कन्सर्ट सेटका कारण बजेट उच्च भएको हो ।
सुरुमा फिल्मको तेस्रो भाग प्रयोगयोग्य नदेखिएपछि ज्याक्सन परिवारले थप करोडौं डलर खर्च गर्नुपरेको थियो । उक्त भाग सन् १९९३ मा माइकल ज्याक्सनमाथि लागेको यौन दुव्र्यवहारको आरोपसँग सम्बन्धित थियो, जसलाई उनले सधैं अस्वीकार गरेका थिए । सम्झौताअनुसार ती घटनाको चित्रण गर्न नपाइने भएपछि फिल्मलाई पुनः परिमार्जन गर्नुपरेको हो ।
पुनः सम्पादनपछि फिल्मलाई माइकल र उनका बुवा जो ज्याक्सनबीचको सम्बन्धमा केन्द्रित गरिएको छ जो ज्याक्सनको भूमिकामा कोलम्यान डोमिंगो देखिएका छन् भने माइकलको भूमिकामा उनका भतिजा जाफर ज्याक्सनले अभिनय गरेका छन् । अन्य कलाकारमा निया लङ, ट्रे होर्टन, राइन हिल, जोसेफ डेभिड जोन्स र जमाल हेन्डरसन लगायत छन् ।
यस साता हलमा रिलिज भएका नयाँ फिल्ममध्ये ‘माइकल’ मात्र प्रमुख रिलिज हो । दोस्रो र तेस्रो स्थानमा क्रमशः सुपर मारियो ग्यालेक्सी मूभी र प्रोजेक्ट हेल मेरी छन् । ‘सुपर मारियो ग्यालेक्सी मुभी’ले शुक्रबार ४.५ मिलियन डलर कमाउँदै आइतबारसम्म २०.५ मिलियन पुग्ने अनुमान छ । यसको कुल उत्तर अमेरिकी कमाइ ३८५ मिलियन डलर नाघ्ने देखिएको छ ।
त्यसैगरी ‘प्रोजेक्ट हेल मेरी’ले शुक्रबार ३.५ मिलियन डलर कमाएको छ । आइतबारसम्म १२.१ मिलियन डलर पुग्ने अनुमान गरिएको छ, जसले यसको कुल घरेलु कमाइ ३०४ मिलियन डलर पुर्याउनेछ ।
शुक्रबारको शीर्ष पाँचमा ‘द ममी’ र ‘द ड्रामा’ पनि परेका छन् । ‘द ममी’ले दोस्रो साताको शुक्रबार १.९ मिलियन डलर कमाएको छ र आइतबारसम्म करिब ५ मिलियन पुग्ने अनुमान छ । ‘द ड्रामा’ले ८१० हजार डलर कमाउँदै पाँचौं स्थानमा छ । यसको सप्ताहन्त कमाइ २.६ मिलियन डलर पुग्ने अनुमान गरिएको छ ।
