काठमाडौँ । नाजीर हुसेन र सुरक्षा पन्त उत्कृष्ट घोषित भएका छन् । ‘पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव २०८३’मा हुसेनले फिल्म ‘गुन्युचोलो’बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पार्दा पन्तले ‘कोशेढुंगा’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेका हुन् ।
सेलिब्रेटी नेपालको आयोजनामा, चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा सर्लाहीमा तीन दिनसम्म चलेको महोत्सव बिहीबार साँझ सम्पन्न भयो । १७ वटा चलचित्र प्रदर्शन गरिएको महोत्सवमा विभिन्न जातजातिका पारम्परिक पहिरनसहित झाँकी प्रस्तुत गरिएको थियो ।
बमधेसका कथा र पर्यटनलाई मुख्य विषय बनाएर विभिन्न संवाद कार्यक्रमहरू भएको महोत्सवमा १. उत्कृष्ट फिल्म ‘मोहर’, उत्कृष्ट निर्देशक ‘ओम प्रतीक गुरुङ (मोहर)’, उत्कृष्ट स्क्रिन प्ले समुन्द्र भट्ट/नाजीर हुसेन (गुन्युचोलो), जुरी अवार्ड निर्देशक मिलन तामाङ (माइतीघर), इन्करेज्मेंट अवार्ड मन्जिल कुमार (कोशेढुंगा), उत्कृष्ट सम्पादक नहकुल खड्क (कोशेढुंगा), उत्कृष्ट छायाँकार बाबु श्रेष्ठ (कोशेढुंगा), उत्कृष्ट आदिवासी फिल्म नाक्छोंग निर्देशक किरण राइ, उत्कृष्ट शर्ट फिल्म निलो आकाश निर्देशक निर्मल पौडेल लगायत अवार्ड प्राप्त गरे ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, चलचित्र निर्माता छविराज ओझा, हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकी लगायतको सहभागिता रहेको कार्यक्रममा आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटा ग्रामीण विषयवस्तुमा बनेका फिल्म प्रमोट गर्ने उद्देश्यले अवार्ड महोत्सव आयोजना गरिएको बताए ।

