काठमाडौँ । बलिराम चौहानको निर्देशनमा बन्न लागेको चलचित्र ‘ल्याङल्याङ’मा मुख्य अभिनेताको रुपमा रिहान गिरीको प्रवेश भएको छ ।
निर्माता कम्पनी स्काइफल पिक्चर्सको ब्यानरमा बन्न लागेको यस चलचित्रमा होस्टल ३ मा प्रशंसा पाएका रिहान गिरीलाई फिल्ममा अनुबन्धित गरिएको निर्माण टिमले जनाएको छ । मुख्य भूमिकाका लागि निर्देशक चौहान र गिरीबीच लिखित सम्झौता भइसकेको छ ।
‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा भाग लिएपछि चर्चामा आएका रिहानले फिल्म ‘होस्टेल ३’बाट अभिनय यात्रा सुरु गरेका थिए । यसपछि उनले ‘आहुति’ नामक फिल्ममा अभिनय गरे, जुन प्रदर्शन हुन बाँकी छ । उनले केही दिनअघि मात्र नयाँ फिल्म ‘छ माया छपक्कै २’को छायांकन सकाएका छन् । उनको पाइपलाइनमा ‘तिमी मेरो म तिम्रो’ फिल्म पनि रहेको छ ।
भोलानाथ कटुवाल निर्माता रहेको फिल्मको कथा बलिराम चौहान र उपश्री खतिवडाले तयार पारेका छन् । फिल्मको छायांकन दशैंअघि नै सुरु हुने तयारी रहेको छ । निर्देशक चौहानका अनुसार अहिले कलाकार र प्राविधिक छनोटको काम भइरहेको छ । फिल्मले जेनजी पुस्ताको प्रेम, संघर्ष, र स्वतन्त्रताको कथा भन्ने जनाइएको छ । ‘द ब्लू लाइट’बाट निर्देशकका रुपमा डेब्यु गरेका चौहानले साइकोलोजिकल थ्रिलरमा बलियो छाप छाड्न सफल भएका छन् ।

