काठमाडौँ । आगामी साउन २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘हली’को निर्माण टिमले असार १५ (धान दिवस) को अवसर पारेर ललितपुरको सुनाकोठीमा विशेष रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ । सोमबार चलचित्रका कलाकार, निर्माता तथा संगीतकारको टोलीले हिलोमा ओर्लेर सामूहिक रूपमा धान रोपेको हो ।
चलचित्रको नाम ‘हली’ र यसको मूल मर्म पनि माटो, कृषक र ग्रामीण परिवेशसँग जोडिएकाले प्रचारप्रसारको उत्कृष्ट सुरुवात स्वरूप यो रोपाइँ कार्यक्रम राखिएको निर्माण पक्षले जनाएको छ ।
रोपाइँका क्रममा चलचित्रका मुख्य अभिनेता प्रमोद दीप, अभिनेत्री सुजता थापा, कलाकार विद्या कार्की, संगीतकार बाबुल गिरी, तथा निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठ लगायतले रोपाइँमा सहभागिता जनाएका थिए ।

चलचित्र ‘हली’ले नेपाली माटो र किसानको कथालाई पर्दामा उतार्ने भएकाले यो रोपाइँ कार्यक्रम केवल प्रचार मात्र नभई चलचित्रको भावनासँग जोडिएको निर्माण टिमले जनाएको छ । शुभ चिरायु फिल्मस् र जपुरा फिल्मस् प्रोडक्सनको सहकार्यमा बनेको यस चलचित्रको लेखन तथा निर्देशन ओम प्रतिकले गरेका हुन् ।
यस चलचित्रको रोपाइँसँग सम्बन्धित गीत निकै चर्चित रहेको छ । ‘चानस पाए त’ बोलको गीत जसमा जस्मिन श्रेष्ठको शब्द र चर्चित संगीतकार तथा गायक बाबुल गिरी र शान्तिश्री परियारको आवाज रहेको छ । फिल्मको प्रचारका लागि विशेष रूपमा तयार पारिएको यस गीतको भिडियोमा प्रियंका कार्की, पूजा शर्मा, दीपाश्री निरौला, दिलीप रायमाझी, किरण केसी जस्ता उद्योगका दिग्गज कलाकारहरूले कम्मर मर्काएका छन् । जसले गर्दा फिल्मप्रति दर्शकको कौतुहलता झन् बढाएको छ ।



