काठमाडौं । मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जितेकी छन् । ललितपुरको द प्लाजा पुल्चोकमा शुक्रबार आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड–२०२६ घोषित भइन्।
यसैगरी, आर्या निशान्त मिस नेपाल इन्टरनेशनल–२०२६ र कशिश सुब्बा मिस नेपाल कोस्मो–२०२६ घोषित भए । प्रतियोगिताको निर्णायक मण्डलमा मिस कोस्मो योलिंडा लिंडक्विस्टसहित विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी थिए। प्रतियोगिताको आयोजना द हिडन ट्रेजरले गरेको हो।
दीपमाला हाल विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन् । उनले यसअघि मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ को उपाधि पनि जितिसकेकी छन्।
व्यावसायिक जीवनसँगै उनी ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविका पनि हुन्। साथै, गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बन्ने उपलब्धि पनि उनको नाममा रहेको छ ।
दीपमाला नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बास्डरसमेत हुन्। उनले मिस वर्ल्डको अन्तर्राष्ट्रिय मञ्चमार्फत क्यान्सरसम्बन्धी जनचेतनामूलक अभियानलाई विश्वस्तरमा विस्तार गर्ने लक्ष्य रहेको बताउँदै आएकी छन् ।
रोचक संयोग के छ भने, उनकी आमा पनि सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगिताकी प्रतिस्पर्धी रहिसकेकी थिइन् ।


