काठमाडौं । कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेर नेपालको नाम अन्तर्राष्ट्रिय फिल्म मञ्चमा स्थापित गरेको चलचित्र ‘तिनीहरू : इलिफेन्ट इन द फग’ को टोलीले काठमाडौंमा विभिन्न कार्यक्रममा विशेष प्रस्तुति दिएको छ।
नेपालमा प्रदर्शनको तयारीमा रहेको चलचित्रको टोलीले काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाइमा मोबिलिटी शोमा सहभागिता जनाउँदै दर्शकमाझ चलचित्रका गीतमा नृत्य प्रस्तुत गरेको हो।
कार्यक्रमको सुरुवात चलचित्रमा समावेश गीत **‘शादी के दिन में (ला ला ला ला)’**को प्रस्तुति र नृत्यबाट गरिएको थियो। त्यसपछि टोली एनआईयूको स्टलमा पुगेर चलचित्रकै अर्को गीत **‘बलम’**मा नृत्य प्रस्तुत गरेको थियो।
टोलीको प्रस्तुतिमा दर्शकहरू उत्साहपूर्वक सहभागी भएका थिए। चलचित्रबारे चासो राख्दै उपस्थित दर्शकले ‘तिनीहरू : इलिफेन्ट इन द फग’ हलमै पुगेर हेर्ने बताएका थिए। टोलीले महेन्द्राको स्टलमा समेत विशेष प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो।
‘तिनीहरू : इलिफेन्ट इन द फग’ कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ सेक्सनमा छनोट हुने पहिलो नेपाली फिचर फिल्म हो । कान्समा छनोट भएर जुरी अवार्डसमेत जितेपछि चलचित्रले नेपाली फिल्मका लागि ऐतिहासिक उपलब्धि हासिल गरेको हो।
यसैबीच, चलचित्रको टोली के–पप काठमाडौं डान्स फेस्टिभलमा प्रमुख अतिथिका रूपमा सहभागी भएको थियो। कार्यक्रममा टोलीले प्रतियोगिताका विजेता तथा सहभागी कलाकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो।
कोरियन पप नृत्यको उत्सवका रूपमा आयोजना गरिएको कार्यक्रममा चलचित्रको टोलीले सहभागी कलाकारहरूको प्रतिभाको प्रशंसा गर्दै उनीहरूको हौसला बढाएको थियो। उक्त कार्यक्रममा ‘तिनीहरू : इलिफेन्ट इन द फग’ मुभी पार्टनरका रूपमा समेत जोडिएको थियो।
यसैगरी, चलचित्रको टोलीलाई इन्फा अवार्डले विशेष सम्मान गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएको योगदानको कदर गर्दै टोलीलाई सम्मान गरिएको हो।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोलले चलचित्रको प्रशंसा गर्दै कान्समा भएको यसको वर्ल्ड प्रिमियरमा आफू सहभागी भएको अनुभव सुनाइन्। उनले चलचित्रले कान्समा पाएको करिब आठ मिनेट लामो स्ट्यान्डिङ ओभेसनलाई स्मरण गर्दै नेपाली फिल्मले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको सफलता गौरवको विषय भएको बताइन्।
डंगोलले नेपाली दर्शकलाई चलचित्र हेर्न आग्रह गर्दै नेपाली फिल्मलाई माया र समर्थन गर्नसमेत आह्वान गरिन्।
‘तिनीहरू : इलिफेन्ट इन द फग’ भदौ १९ गतेदेखि नेपालमा प्रदर्शनमा आउँदैछ।


