इटहरी । युवा फिल्मकर्मी हर्ष यादवले फिल्म ‘प्रतिवैरम्’मार्फत निर्माताका रूपमा नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका छन् । आफ्नाे पहिलो प्रोजेक्टले दर्शकमाझ राम्रो ‘हाइप’ सिर्जना गर्नेमा उनी विश्वस्त छन् ।
मधेसको सामाजिक परिवेश, संघर्ष र मौलिक कथालाई नेपाली पर्दामा पर्याप्त स्थान नदिइएको महसुस गर्दै आफूले फिल्ममा लगानी गरेको यादवले बताएका छन् । हर्ष यादव र सत्यराज चौलागाईं ‘एसआरसी’को मुख्य निर्माण रहेको ‘प्रतिवैरम्’ आगामी २०८३ मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । फिल्मको रिलिज मितिसहित आधिकारिक पोस्टर सार्वजनिक भएसँगै निर्माण टिमले प्रचार अभियानलाई तीव्र बनाएको छ । प्रियंका कार्कीको आइटम नृत्य समावेश गीत पनि चाँडै सार्वजनिक गर्ने तयारी छ ।
रोशन दासको निर्देशन तथा कथामा बनेको फिल्मले मधेसको सामाजिक परिवेशसँगै प्रेम, पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधको कथा प्रस्तुत गर्छ । पोस्टरमा आगोको पृष्ठभूमिसहित नवनायक सम्राट दासलाई आक्रामक अवतारमा र सुप्रज्ञा शर्मालाई भावुक पात्रका रूपमा प्रस्तुत गरिएको छ ।
‘प्रतिवैरम्’ नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा प्रदर्शन हुनेछ । यसबाट मधेसका स्थानीय दर्शकसँगै सीमावर्ती भारतीय बजारसम्म पहुँच विस्तार गर्ने निर्माण पक्षको लक्ष्य छ ।
रेज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सम्राट दास, सुप्रज्ञा शर्मा, वीरेन्द्र सिंह कुशवाहा, अलिशा बास्तोला, रमेश बुढाथोकीलगायत कलाकारको अभिनय छ ।


