काठमाडौं । हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरमा सन्तानको सुख र भविष्यका लागि बाबुले गर्ने संघर्ष, त्याग र बलिदानलाई मुख्य विषय बनाइएको छ । आफू जन्मिएको भूमि र बाबुआमाको योगदान भुल्दै जाने प्रवृत्तिलाई पनि कथामार्फत प्रस्तुत गरिएको छ ।
सन्तानको खुसीका लागि घरसमेत बेच्न तयार हुने बाबुले आफ्नै सन्तानबाट पाउने दुःख र त्यसपछि लिने कठोर निर्णयलाई ट्रेलरमा देखाइएको छ । यद्यपि, फिल्मको क्लाइमेक्सलाई भने रहस्यमै राखिएको छ ।
दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय रहेको चलचित्र भदौ १९ गतेदेखि प्रदर्शनमा आउनेछ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता वसन्त लम्साल हुन् । शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।


