काठमाडौं । निर्देशक बलिराम चौहानको निर्देशनमा बन्न लागेको सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा कलाकार प्रज्वल दुलाल अनुबन्धित भएका छन् । प्रज्वलको अनुबन्धसँगै सिनेमाको मुख्य कलाकारको लाइनअप पूरा भएको निर्देशक चौहानले बताएका छन् ।
यसअघि सिनेमामा रिहान गिरी, सन्तोष बानियाँ, जीवनजंग बस्न्यात र मुख्य अभिनेत्रीका रूपमा गुराँस ढकाल अनुबन्धित भइसकेका छन् । प्रज्वलले यसअघि ‘बलिदान’, ‘अक्षरा’मा अभिनय गरेका छन् ।
इटहरीमा जन्मिएका प्रज्वलले रेडियो हुँदै रंगमञ्चमा यात्रा सुरु गरेका हुन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवसहित करिब दुई दर्जन नाटकमा अभिनय, लेखन तथा निर्देशन गरेका छन् ।
स्काइफल पिक्चर्सको ब्यानरमा भोलानाथ कटुवालको लगानीमा बन्ने सिनेमाले जेनजी पुस्ताको प्रेम, संघर्ष, स्वतन्त्रता र मानसिक दबाबको कथा प्रस्तुत गर्नेछ । ‘हरेक युवाको कथा’ स्लोगन राखिएको सिनेमा असोज पहिलो साताबाट छायाँकनका लागि फ्लोरमा जाने तयारीमा छ ।


