काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र ‘पेन्सन पट्टा’ लाहुरे परिवारको कथा मात्रै नभएर पुस्ता, प्रेम, सम्बन्ध, जिम्मेवारी र बदलिँदो सामाजिक मनोविज्ञानलाई बुझ्ने महत्वपूर्ण फिल्म भएको बताएका छन् । माओत्से गुरुङको निर्देशनमा बनेको यो चलचित्र यही शुक्रबार अर्थात् भाद्र २६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
लाहुरे समुदायको वीरता र सफलताका कथा नेपाली समाजमा प्रशस्तै सुनिए पनि अवकाशपछि उनीहरूको पारिवारिक जीवनमा आउने उतारचढाव र पेन्सनसँग जोडिएका समस्या पर्दामा कमै आएको अभिनेता दयाहाङको भनाइ छ । यही विषयले आफूलाई फिल्मतर्फ आकर्षित गरेको उनले बताएका छन् ।
“लाहुरेहरूको वीरता र सफलताको कथा त धेरै सुनिन्छ । तर अवकाशपछि एउटा लाहुरे परिवारमा आउने समस्या र पेन्सनकै कारण उत्पन्न हुने परिस्थितिको कथा कमै सुनिएको छ,” उनले भने ।
लाहुरे परिवारको पृष्ठभूमिबाट आफू नआए पनि नजिकबाट यस्तो समुदायलाई देख्दै आएको बताउँदै उनले ‘पेन्सन पट्टा’ले लाहुरे परम्पराको केही फरक र कम चर्चामा आएको पाटोलाई प्रस्तुत गर्ने बताए । उनका अनुसार फिल्मको मुख्य शक्ति नै यसको विषयवस्तु हो ।
फिल्ममा आफूले निर्वाह गरेको चरित्रलाई समय र समाजकै वरिपरिबाट निर्माण भएको पात्रका रूपमा दयाहाङले व्याख्या गरेका छन् । यद्यपि गुरुङ समुदायको सांस्कृतिक विश्वास, मनोविज्ञान र सम्बन्धलाई बुझ्न अध्ययन तथा छलफल आवश्यक परेको उनको भनाइ छ ।
दयाहाङले ‘पेन्सन पट्टा’लाई दुई पुस्ताबीचको कथा पनि मानेका छन् । फिल्ममा दुई पुस्ताका प्रेम सम्बन्धसँगै उनीहरूले भोगेको समय र सोचबीचको अन्तर देखाइएको उनले बताए । जागिर र आम्दानीले मात्रै जीवन पूर्ण नहुने भन्दै फिल्मले जिम्मेवारीपूर्ण जीवन र सम्बन्धको अर्थलाई समेत उठाएको उनको धारणा छ ।
निर्देशक माओत्से गुरुङको फिल्म निर्माण शैलीको प्रशंसा गर्दै दयाहाङले ‘पेन्सन पट्टा’ मनोरञ्जनका लागि मात्रै नभएर समाजको कम सुनिएको पाटो बुझ्न हेर्नैपर्ने फिल्म रहेकाे दाबी गरेका छन् ।


