काठमाडौं । बलिराम चौहानको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त गरिएको छ । ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा गर्दै निर्माण टिमले चलचित्रको शुभ मुहूर्त गरेको हो । कार्यक्रममा निर्देशक चौहान, निर्माता भोलानाथ कटुवालसहित चलचित्रका अधिकांश मुख्य कलाकारको उपस्थिति थियो ।
निर्देशक चौहानका अनुसार चलचित्रको छायांकन बुधबारदेखि काठमाडौंको लाजिम्पाटबाट सुरु हुनेछ । करिब ३५ दिनको छायांकन तालिका रहेको चलचित्र काठमाडौंसँगै झापा र सुनसरीको इटहरी क्षेत्रमा खिचिनेछ ।

स्काई फल पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । युवापुस्ताले साथीभाइबीचको निरन्तरको किचकिच, दबाब वा मानसिक तनावलाई बुझाउन प्रयोग गर्ने ‘ल्याङ्ग ल्याङ्ग’ शब्दलाई चलचित्रको शीर्षक बनाइएको निर्देशक चौहानले बताए ।
चलचित्रले जेनजी पुस्ताको प्रेम, संघर्ष, स्वतन्त्रता तथा उनीहरूको मनोविज्ञानलाई समसामयिक कथामार्फत प्रस्तुत गर्ने जनाइएको छ ।
चलचित्रमा रिहान गिरी, सन्तोष बानियाँ, जीवन जंग बस्न्यात, गुराँस ढकाल, प्रज्वल दुलाल, बिनोद सिंह थापा, सुप्रिया खनाल, हिउँवाला गौतम, सवी थापा, श्रेया श्रेष्ठ, सुगम दुलाल र सिर्जना बानियाँलगायत कलाकारको अभिनय रहनेछ ।
बलिराम चौहान र उपाश्री खतिवडाको कथा रहेको चलचित्रमा भोलानाथ कटुवालको लगानी रहनेछ । रवी रोक्काको छायांकन, अर्जुन पोखरेल, प्रशान्त शिवाकोटी र अभिषेक निरौला (एनमक्स)को संगीत, साश्वत श्रेष्ठको बीजीएम तथा मित्र डी गुरुङको सम्पादन रहनेछ ।

