काठमाडौं । निर्देशक बलिराम चौहानले आगामी निर्देशकीय फिल्म ‘ल्याङ ल्याङ’ को छायांकन बुधबारदेखि थालेका छन् । लाजिम्पाटको एक अपार्टमेन्टबाट छायांकन थालिएको जानकारी उनले दिए ।
छायांकनमा जानुअघि ललितपुरको कार्यविनायक मन्दिरमा फिल्मको मुहूर्त पूजा गरिएको थियो, जहाँ कलाकारसहित निर्माता भोलानाथ कटुवाल लगायत उपस्थित थिए ।
३५ दिने तालिकासहित फिल्म छायांकमा निस्किएको हो । काठमाडौं, झापा र सुनसरीको इटहरी क्षेत्रमा छायांकन गरिनेछ ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने फिल्मको थिम ‘हरेक युवाको कथा’ राखिएको छ । युवापुस्ताले आफ्नो सर्कलमा साथीभाइबीचको ‘किचकिच’ र एउटै कुरामा हुने बारम्बारको दबाब वा मानसिक तनावलाई बुझाउन ‘ल्याङ ल्याङ’ शब्द प्रयोग गर्ने गर्छन् ।
युवावयको सोही प्रवृत्तिलाई चित्रण गर्दै निर्माताले सोही नाममा फिल्म निर्माण गर्न लागेका हुन् । ‘सिनेमाले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्नेछ’ उनले भने, ‘विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्नेछौं ।’
शीर्ष भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ, जीवनजंग बस्न्यात, गुराँस ढकाल, प्रज्वल दुलाल, बिनोद सिंह थापा, सुप्रिया खनाल, हिउँवाला गौतम, सवी थापा, श्रेया श्रेष्ठ, सुगम दुलाल र सिर्जना बानियाँलगायत कलाकारको अभिनय रहनेछ ।
कथा बलिराम चौहान र उपाश्री खतिवडाले मिलेर लेखेका हुन् । स्काई फल पिक्चर्सको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । फिल्ममा रवि रोक्काको छायांकन, अर्जुन पोखरेल, प्रशान्त शिवाकोटी र अभिषेक निरौलाको संगीत, महेश मगर प्रोडक्सन म्यानेजर, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, साश्वत श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र मित्र डी गुरुङको सम्पादन रहनेछ ।

