Home Main Highlight News ‘टनेल २६’को ट्रेलर सार्वजनिक, असोज २३ गतेबाट प्रदर्शन
   

‘टनेल २६’को ट्रेलर सार्वजनिक, असोज २३ गतेबाट प्रदर्शन

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । दसैंको छेको पारेर असोज २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘टनेल २६’को ट्रेलर सार्वजनिक गरिएको छ । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्मको ट्रेलरले कथावस्तुबारे जानकारी दिएको छ । भुटानको जलविद्युत् सुरुङभित्र भएको हताहतीको घटनालाई फिल्मको मुख्य विषयवस्तु बनाइएको ट्रेलरले प्रस्ट्याउँछ ।

सुरुङभित्र जलविद्युतको काम भइरहँदा ठूलो दुर्घटना हुन्छ । त्यसपछि कुनै सङ्क्रमणबाट मृत्यु भइसकेका मानिसहरू जोम्बी (मरेपछि फेरि जीवित भएर अरुलाई टोक्ने वा आक्रमण गर्ने) बनेपछि उत्पन्न परिस्थितिलाई ट्रेलरमा देखाइएको छ । ट्रेलरमा मेकिङ, प्रस्तुति र प्राविधिक पक्ष सशक्त देखिन्छ । जोम्बी कथा मनपर्ने दर्शकलाई फिल्म रुचिकर हुनसक्छ ।

डीडी किन्लेले लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनुप विक्रम शाही, आना शर्मा, सांगे सेल्ट्रिम, रोशिनी दादा, निदुप दोर्जी, फुन्त्सोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्त्सो, किनराब, चेन्चो लामा, केजाङ काजलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा प्रदीप खड्काले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । उनी फिल्मका क्रिएटिभ प्रोड्युसर समेत हुन् ।

संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको फिल्ममा नेपालका दीर्घ गुरुङ र भुटानका सांगे टी तेन्जिङको छायांकन, डीडी किन्लेको सम्पादन, तेर्डसाक जानपानको पार्श्व संगीत (बीजीएम) तथा राजु तामाङको द्वन्द्व निर्देशन छ । फिल्मको छायांकन भुटानमा भएको हो । नेपाल र भुटानमा फिल्म एकसाथ रिलिज हुनेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link