काठमाडौं । चलचित्र ‘बा: एक योद्धा’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । शुक्रबारबाट रिलिज भएको चलचित्र हेर्ने दर्शकले आफ्ना सन्तानलाई यो सिनेमा देखाउन सुझाव दिइरहेका छन् ।
आफ्नो अधिकार खोज्ने तर तर दायित्व बिर्सिने सन्तानका लागि ‘बा: एक योद्धा’ नैतिक शिक्षा भएको दर्शकको प्रतिक्रिया छ । अभिभावकले समय निकालेर आफ्ना सन्तालाई ‘बा: एक योद्धा’ देखाए – जिम्मेवार सन्तान बन्न यसले प्रेरित गर्ने दर्शकको भनाइ छ । बुबाआमादेखि टाढा बसेका सन्तानलाई पनि ‘बा: एक योद्धा’ हेर्न दर्शकको आग्रह छ ।
‘बा: एक योद्धा’को मुख्य कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित रहेको छ । सन्तानको इच्छा पूरा गर्न बुवाआमाले गर्ने संघर्षसँगै वृद्ध अवस्थामा उनीहरूले पाउने दु:खलाई चलचित्रले कथामा समेटेको छ ।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बा: एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् । चलचित्र ‘बा: एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह-निर्माता कृष्ण काफ्ले रहेका छन् ।


