काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको एक्सनप्रधान चलचित्र ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक ट्रेलरमा विराज भट्ट र समीर भट्टलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ ।
ट्रेलरमा द्वन्द्व, अपहरण, उद्धार, शक्तिशाली संवाद र बदलाका दृश्य समेटिएका छन् । विशेषगरी विराज र समीरबीचको टकरावले चलचित्रको कथावस्तुबारे दर्शकमाझ उत्सुकता बढाएको छ । ट्रेलरले कथाका सबै पक्ष नखुलाए पनि चलचित्रमा प्रतिशोधको कथा रहने संकेत गरेको छ ।
चलचित्रमा अनुपविक्रम शाही खलपात्रका रूपमा देखिएका छन् । उनको उपस्थितिले मुख्य पात्रहरूको संघर्षलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ । एक्सनलाई प्रमुख आकर्षण बनाइएको चलचित्रमा प्रेम र भावनात्मक सम्बन्धलाई पनि स्थान दिइएको छ । यसअघि सार्वजनिक ‘जुनेली’, ‘लालीगुराँस’ र ‘रेशमी रुमाल’ गीतले चलचित्रका प्रेम तथा सम्बन्धका पक्षलाई प्रस्तुत गरेका छन् ।
चलचित्रमा विराज र समीरसँगै अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, कृशु शाही र वर्षा इटनीलगायत कलाकारको अभिनय छ ।
विराज भट्टको निर्देशन रहेको चलचित्रमा कथा तथा पटकथा सन्तोष सरकारको रहेकाे छ । महेश पौडेलको छायाङ्कन, बन्दे प्रसादको सम्पादन तथा युग भुसाल र डीपी खनालको संगीत रहेको चलचित्रमा रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन छ । द्वन्द्व निर्देशन सिल्भा र शंकर महर्जनले गरेका छन् । बिजिएम स्काेरमा कालचरणकाे संगीत सुन्न सकिन्छ ।
‘१२ गाउँ २’ दशैंको अवसरमा असोज ३० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।


