Home Main Highlight News ‘कबड्डी ५’ को ट्रेलरमा दया भर्सेस विपिन, खेल कसले जित्ला ?
   

‘कबड्डी ५’ को ट्रेलरमा दया भर्सेस विपिन, खेल कसले जित्ला ?

by Parda Sansar
A+A-
Reset

काठमाडाैँ । निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले ललितपुरको लबिम मलमा कार्यक्रम गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा काजीको वैवाहिक जीवन, मैया र काजीको सम्बन्धको नयाँ पाटाहरू र बिपीन कार्कीको भूमिकालाई टिजरभन्दा अझ बढी प्रस्ट र मनोरञ्जनात्मक रूपमा देखाइएको छ । ट्रेलरमा बेरोजगारीबाट दिक्क भएर काजी, बीके र छन्त्यालले मुस्ताङमा शान्ति वाटिका होटल खोलेर नयाँ व्यवसाय सुरु गरेको देखाइएको छ । नयाँ व्यवसाय सुरु गरेपछि कथामा झन् ठूलो ट्विस्ट आउँछ, जहाँ सृजना गुरुङले निभाएको नयाँ मैयाको पात्रसँग काजीको विवाह भएको देखाइएको छ ।
यसका साथै काजीको टोली, र गाउँमा छिरेको बिपिन कार्कीको रैथाने गुन्डा समूहबीच हुने टक्कर, एक्सन र कमेडी शैलीका कारण ट्रेलर निकै रमाइलाे बनेको छ । साथै ट्रेलरको अन्त्यतिर काजी र मैया एउटै गाडीमा कतै गइरहेको दृश्यले दर्शकलाई थप कौतुहलता पैदा गर्ने देखिन्छ ।

यसअघि सार्वजनिक सिनेमाको टिजरमा पुरानै कथाको निरन्तरतामा काजी र मैयाको जीवनको नयाँ मोड, बीकेको प्रविधिसँगको रमाइलो सम्बन्ध, र विपिन कार्कीको जबर्जस्त इन्ट्रीले दर्शकहरूमाझ निकै उत्सुकता जगाएको थियो । टिजरमा धेरै दर्शकले मिरुना मगर अर्थात् सिनेमाकी पात्र शान्ति मिसको निकै खोजी गरेका थिए । ट्रेलरमा उनी पनि देखिएकी छन् ।  यसले सिनेमाको कथा ट्वीस्टमाथि ट्वीस्ट बनेको देखिन्छ ।

नेपाली सिने बजारमा इतिहास रच्दै ‘कबड्डी’ का अघिल्ला चारवटै शृङ्खला बक्स अफिसमा सुपहिट र ब्लकबस्टर साबित भइसकेका छन् । सोही क्रेजलाई निरन्तरता दिँदै निर्माण गरिएको यस वर्षकै सबैभन्दा प्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ यस वर्ष दशैंको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेबाट प्रदर्शनमा आउनेछ ।

सिनेमामा कलाकारहरू दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।

सिनेमाको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् । नेपालमा सिनेमाको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशी वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link