Home Main Highlight News ‘पाँच पाण्डव’मा भीमसेन बनेका जीतु नेपाल भन्छन् – ‘फिल्ममा म इट्टाभट्टाको मजदुर हुँ’
 

‘पाँच पाण्डव’मा भीमसेन बनेका जीतु नेपाल भन्छन् – ‘फिल्ममा म इट्टाभट्टाको मजदुर हुँ’

by Parda Sansar
A+A-
Reset

अभिनेता जितु नेपाल यही कार्तिक २० गतेबाट रिलिज हुने फिल्म ‘पाँच पाण्डव’मा भीमसेन चरित्रमा देखिँदैछन् । फिल्मको ट्रेलरमा जितुलाई अभिनेता हरिवंश आचार्यले भीम भनेर बोलाउँदा ‘म त भीमसेन हो’ भनेको दृश्य राखिएको छ ।

भीम भन्नासाथ महाभारतको त्यो चरित्रको सम्झना आउँछ, जो पाँच पाण्डवमध्ये सबैभन्दा बलिया थिए । तर ट्रेलरमा जितुलाई भीमका रुपमा प्रस्तुत गरिएपछि उनी कसरी भीम भए भन्ने चर्चा नचलेको पनि होइन ।

‘यो सही कुरा हो । किनभने भीम भन्दा सबैले ठूलो चरित्रलाई बुझ्छन् । तर फिल्ममा मेरो चरित्र पनि रमाइलो नै छ । किनभने यो ठ्याक्कै पाँच पाण्डव नै होइन । कसैले मलाई ‘तँ भीम हो’ भनेर सोध्ने पनि होइन’, जितु भन्छन्, ‘स्वर्गमा रहेका युधिष्ठिर दाजुभाई नहुँदा सुखी हुनुहुन्न । उहाँलाई चार जना भाइहरुको सम्झना आउँछ । अनि ५१ सय वर्ष पछि कुनै न कुनै रुपमा जन्मे होला नि मेरा भाईहरु भनेर चिन्तित भइरहँदा भगवानले भाईहरु नेपाल नगरीमा छन् है भनेपछि उहाँ खोज्न आउँदा हामीलाई भेटेर ‘तँ भीम होस्’, ‘तँ अर्जुन होस्’, तँ मेरो नहकुल होस्’ भनेर चिनाउनु हुन्छ । मैले आफैं भीम हो भनेको छैन । कसैले त्यो क्यारेक्टर सम्झन त पायो । कसैले भीम सानो हुनुभयो पनि भने । तर भीम सानै हुन नपाउने भन्ने त होइन नि ।’

जितुका अनुसार उनले चरित्रका लागि धेरै तयारी पनि गरेका रहेनछन् । किनकी उनलाई थाहा थियो उनी फिल्ममा पूर्ण भीम होइनन् । ‘फिल्ममा म इट्टाभट्टाको मजदुर हुँ । त्यसकारण मैले निर्देशकको निर्देशन र कथा अनुसार जे माग छ, त्यही अनुसार गरेको हुँ’, जितु खुल्छन्, ‘हामी केवल पाण्डवको एउटा अंश मात्र हौं । कल्पनामा आएर कसैले कनेक्ट गर्यो भने एउटा कुरा हो ।’

जितुले महाभारत र पाण्डवको जस्तो चरित्रमा फिल्म बन्ने भएपछि त्यस्तो कथामा जोडिन पाउँदा खुशी लागेको बताए । जितुलाई फिल्ममा काम गर्दा तीन चुनौती लागेको रहेछ । पहिलो चुनौती, दीपाश्री निरौला । किनकी फिल्ममा दीपाश्री र जितु नेपाल श्रीमान श्रीमतिको भूमिकामा छन् ।

‘मैले यसअघि विज्ञापनमा दीपा दिदीसँग काम गरेको थिएँ । तर यसमा चाहिँ भीमको श्रीमतिको रोल आयो । त्यो नौलो अनुभव भयो । अर्को कुरा हरिवंश आचार्यज्यूसँग पहिलोपटक स्क्रिन शेयर गरें । युधिष्ठिरले भीमलाई सम्झाउँछन् त्यो खालको मलाई फरक अनुभव भयो । अनि पाँच पाण्डव छन्, अरु पनि कलाकार हुनुहन्छ । यो धेरै ठूलो क्यानभासको स्टार भएको फिल्ममा म आफू कसरी प्रस्तुत हुने, कुन रुपले जितुलाई सम्झेलान् भन्ने चुनौती मलाई थियो’, जितु भन्छन् ।

जितु भन्नासाथ जोकोहीले कमेडीको चाहना राख्छन् । जितु पनि यो कुरामा सहमत छन् । उनको भनाईमा फिल्म ‘पाँच पाण्डव’मा दर्शकको त्यो चाहना केही हदसम्म पुरा हुन्छ रे । ‘त्यो चाहना हल्का रुपमा पुरा हुन्छ । किनभने यो त एउटै मान्छेको कथा होइन । पाँच जना भाईको कथा हो । त्यसकारण हरेक कलाकारका आ–आफ्ना पाटा छन् । आ–आफ्ना कथा छन् । त्यसकारण जति कथाले मागेको छ, जति दृश्यले मागेको छ, त्यसमा चाहिँ हाम्रो कमेडी छ ’, उनी भन्छन् ।

जितुले फिल्म ‘पाँच पाण्डव’का निर्देशक वसन्त निरौलासँग ‘ज्वाइँ साब’मा काम गरिसकेका थिए । ‘पाँच पाण्डव’का लेखक सुशील पौडेलसँग पनि पुरानै चिनजान थियो भने निर्माता नविन श्रेष्ठसँग फिल्म ‘लाज शरणम्’को समय देखि नै चिनजान थियो । ‘प्रायः भेटघाट भइरहने हुँदा फिल्म गरौं भन्ने कुरा भयो । अनि पाँच जना पाण्डव चाहिँदा म त पर्ने कुरा भइहाल्यो’, उनी भन्छन् ।

यही कात्तिक २० गतेबाट प्रदर्शन हुने चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । ‘पाँच पाण्डव’मा जितुसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, दीपाश्री निरौला, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ ।

यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।

‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन् । गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।

‘पाँच पाण्डव’मा दर्शकले पूरै साउन्ड डल्बी एटमस साउन्ड अनुभव गर्न पाउने छन् ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।

चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link