काठमाडौं । दसैंको अवसरमा रिलिज भएका चार फिल्ममध्ये ‘कबड्डी ५’ ले १० दिनमा साढे १० करोडको आँकडा पार गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार फिल्मले घरेलु बक्स अफिसबाट १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
यससँगै ‘कबड्डी ५’ यस वर्षको दोस्रो धेरै कमाउने सिनेमा बनेको छ । यसअघि दयाहाङ राई नै मुख्य भूमिकामा रहेको चलचित्र ‘पेन्सन पट्टा’ दोस्रो स्थानमा थियो । पेन्सन पट्टाले आइतबारसम्ममा १० करोड २८ लाख १८ हजार ४८८ रुपैयाँ ग्रस व्यापार गरेको छ ।
‘आ बाट आमा २’ले कात्तिक १५ गतेसम्ममा ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ । त्यस्तै ‘छ माया छपक्कै २’ ले ३ करोड ३४ लाख ८४ हजार ४३५ रुपैयाँ ग्रस कमाएको बोर्डको विवरणमा उल्लेख छ ।
विराज भट्टको निर्देशनमा बनेको एक्सन चलचित्र ‘१२ गाउँ २’ ले २ करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँ बराबरको व्यापार गरेको छ ।
बोर्डले ‘गौँथली’ र ‘बा: एक योद्धा’को कमाइ पनि सार्वजनिक गरेको छ । जसअनुसार ‘गौँथली’ले २६ करोड ७ लाख ४६ हजार १८६ रुपैयाँ ग्रस कलेक्सन गर्दै यो वर्षको सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ । ‘बा: एक योद्धा’ले ३ करोड ५४ लाख ४० हजार २५६ रुपैयाँ ग्रस व्यापार गरेको छ ।



