Home Main Highlight News ‘चिरञ्जीवी भवः’को दुई पोस्टर सार्वजनिक, हरिवंश देखिए ‘चिरञ्जीवी बाजे’को अवतारमा
 

‘चिरञ्जीवी भवः’को दुई पोस्टर सार्वजनिक, हरिवंश देखिए ‘चिरञ्जीवी बाजे’को अवतारमा

by Parda Sansar
A+A-
Reset

काठमाडौं । दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भएको चलचित्र ‘चिरञ्जीवी भवः’को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले शनिबार चलचित्रका मुख्य पात्रहरूलाई समेट्दै पहिलो झलकका रूपमा पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा अभिनेता हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीलाई प्रस्तुत गरिएको छ । एउटा पोस्टरमा हरिवंश गम्भीर मुद्रामा देखिएका छन् भने आशीर्वाद र प्रशंसा हँसिलो शैलीमा प्रस्तुत छन् । पोस्टरको केन्द्रमा रहेका हरिवंश सेतो फुलेको कपाल, जुँगा र ढाका टोपीमा देखिएका छन् । उनको पहिरन र व्यक्तित्वले परम्परागत नेपाली परिवारको घरमुलीको झल्को दिन्छ ।

पोस्टरको पृष्ठभूमिमा मन्दिर र चलचित्रको शीर्षकसँगै राखिएको खामले धार्मिक आस्था तथा समयको संकेत गरेको देखिन्छ । आशीर्वाद क्याजुअल पहिरनमा छन् भने प्रशंसा बुट्टे चोली र सारीमा आकर्षक देखिएकी छन् ।

अर्को पोस्टरमा हरिवंशले आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य छ । दौरा सुरुवाल र ज्वारीकोटमा देखिएका हरिवंशको यो लुक्सले चलचित्रको शीर्षक ‘चिरञ्जीवी भवः’लाई सार्थक बनाउने प्रयास गरेको छ । पोस्टरका आधारमा हरिवंश र आशीर्वाद बाबुछोराको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।

चलचित्रमा हरिवंश आचार्य ‘चिरञ्जीवी बाजे’को चरित्रमा देखिँदैछन् । सामाजिक कथावस्तुमा आधारित यस चलचित्रले दुई पुस्ताबीचको वैचारिक भिन्नता र पारिवारिक सम्बन्धलाई मुख्य विषय बनाएको छ ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र माघ १ गते (१५ जनवरी) देखि देशभर प्रदर्शनमा आउनेछ । हाल पोस्ट प्रोडक्सनमा रहेको चलचित्रलाई कुमार कट्टेल ‘जिग्री ब्रो’को कथामा दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् ।

गत वर्ष निर्देशक आचार्यकै निर्देशनमा बनेको चलचित्र ‘परान’ ब्लकबस्टर बनेको थियो । उक्त चलचित्र वर्षकै सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली चलचित्र बनेपछि उनको दोस्रो निर्देशकीय चलचित्र ‘चिरञ्जीवी भवः’प्रति दर्शकको चासो बढेको छ ।

चलचित्रमा करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी र सुस्मिता कुँवरलगायत कलाकारको अभिनय रहेको छ ।

कुमार कट्टेलको कथालाई सविन अधिकारी र वसन्त न्यौपानेले पटकथामा ढालेका हुन् । चलचित्रका निर्माता उमेशकुमार बराल र चिरन केसी हुन् भने गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता रहेका छन् ।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र मित्र डी. गुरुङको सम्पादन रहेको छ । बाबुल गिरी, सुशान्त गौतम, निरञ्जन थापा र समीर खरेलले संगीत दिएका छन् । निर्देशक दीपक आचार्यसँगै हर्क साउदले गीत लेखेका छन् भने रञ्जित गजमेरको संगीतसमेत चलचित्रमा रहनेछ ।

गम्भीर विष्ट र किरण थापा नृत्य निर्देशकका रूपमा रहेका छन् । रामबाबु खड्का प्रमुख सहायक निर्देशक हुन् । चलचित्रको प्रोडक्सन डिजाइन विशाल न्यौपानेले गरेका छन् ।

चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ । रोहित कट्टेल र रत्न श्रेष्ठ आरआर फिल्म्सका तर्फबाट वितरणमा संलग्न रहनेछन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link