बिर्तामोड । यही माघ १६ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘आबाट आमा’को ‘जाँदैछु नौडाँडा काटेर’ बोलको गीत रिलिज भएको छ । माघे संक्रान्तिको अवसर पारेर निर्माण टिमले सो गीत रिलिज गरेको हो ।
गीतको भावले परदेशिन लागेको छोरा र आमाबुबाको करुणा प्रस्तुत गरेको छ । जसमा अभिनेता पल शाह छोराको रुपमा तथा विपना थापा र प्रदीप रावत आमाबुबाको भूमिकामा छन् । चलचित्रमा साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित बिष्ट, बेगम नेपाली लगायतको अभियन रहेको छ ।
अभि सुनारले शब्द संगीत रहेको गीतमा किरण परियारको स्वर रहेको छ । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्देशन चन्द्र पन्तले गरेका हुन् । उनैले फिल्मको कथा र पटकथामा पनि काम गरेका छन् । फिल्ममा कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ भने गायनमा रबि ओड, किरण परियार र नेपाली भर्सनमा यमन श्रेष्ठको स्वर सुन्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको यस फिल्ममा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ । फिल्मको कार्यकारी निर्माता करण सिंह रसाइली हुन् ।
फिल्मको सम्पादनमा मिलन श्रेष्ठ साथै ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन् । यसअघि ‘लैजा खबर ए हावा’ गीत र टिजर सार्वजनिक भइसकेको छ । यो फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल राइट्स ओएसआर डिजिटलको रहेको छ ।
