बिर्तामाेड । सेभेन सिज सिनेमाको ब्यानरमा बनिरहेको चलचित्र ‘रोल नं. १’ को पहिलो चरणको छायांकनको काम सम्पन्न भएको छ । म्याग्दीका विभिन्न रमणीय स्थानमा ४२ दिन लगाएर चलचित्रको मुख्य हिस्सा छायांकन गरिएको हो ।
जोन योञ्जनको निर्देशन र कथामा तयार भइरहेको ‘बाल मनोविज्ञान’मा आधारित चलचित्र रोल नं. १ को छायांकन मंसिर १५ गतेदेखि सुरु भएको थियो । प्रतिकूल मौसम र प्राविधिक चुनौतीका बाबजुद निर्धारित समयकै आसपासमा पहिलो चरणको काम सकिएको निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार हिमाली जिल्ला भएकाले अत्यधिक चिसोले छायांकन टोलीलाई निकै सास्ती दियो । पौडेल भन्छन्, ‘कलाकारहरूलाई भन्दा पनि प्राविधिक टोलीलाई चिसोले निक्कै गाह्रो बनायो । राति १० बजेपछि ताफ निकै घट्ने भएकाले रातिका दृश्य लिन कठिन हुन्थ्यो ।’
केही दिनको आराम लिएर काठमाडौंका बाँकी दृश्य पनि चाँडै खिचिने निर्माण टिम जनाएको छ ।
चलचित्रको कथा विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र ‘जित्नैपर्ने’ मानसिकताको प्रभाव वरिपरि केन्द्रित रहेको संकेत गरिएको छ ।
चलचित्रको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी र निर्भिक रेग्मी रहेका छन् ।
