मुम्बइ । बलिउड सुपरस्टार शाहरूख खानको आगामी फिल्म ‘किङ’ ले रिलिज हुनुअघि नै ठूलो कमाइ गरेको छ। फिल्मले प्रदर्शनअगावै २ सय ५० करोड भारूको वितरण सम्झौता हासिल गरेको हो।
भारतीय संचारमाध्यम बलिउड हंगामाका अनुसार फिल्मको भारतमा थिएटर वितरण अधिकार पेन मरूधर कम्पनीले २ सय ५० करोड भारूमा खरिद गरेको हो। यो यस वर्षको सबभन्दा ठूलो थिएटर सम्झौताहरूमध्ये एक मानिएको छ।
पेन मरुधरको शाहरूख खानको प्रोडक्सन हाउससँग लामो समयदेखिको सम्बन्ध छ। कम्पनीले पहिले ‘जवान’, ‘डंकी’, ‘जिरो’, ‘बदला’ जस्ता फिल्महरू रिलिज गरिसकेको छ।
‘किङ’ लाई करिब ४ सय करोड भारूको बजेटमा निर्माण गरिएको बताइएको छ। फिल्मको निर्देशक सिद्धार्थ आनन्द हुन्। यसमा शाहरुख खानसँगै दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन, सुहाना खान, अनिल कपूर, अरशद वारसी लगायतको ठूलो स्टार कास्ट रहेको बताइएको छ।
फिल्म २४ डिसेम्बर, २०२६ मा भव्य रूपमा रिलिज गर्ने तयारी गरिएको छ। रिलिज अघि नै ठूलो वितरण डिल हुनु र उच्च बजेटले ‘किङ’ लाई व्यापारिक रूपमा अत्यन्तै ठूलो अपेक्षाको केन्द्र बनाएको छ।
