Home Main Highlight News डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को सम्पूर्ण छायांकन सम्पन्न
   

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को सम्पूर्ण छायांकन सम्पन्न

by Parda Sansar
A+A-
Reset

काठमाडौँ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। कास्कीको धिताल गाउँमा कलाकारद्वय राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम टेक लिँदै  चलचित्रको ‘प्याकअप’ गरिएको हो। ३५ दिनको छायांकन तालिका तय गरेर पोखराको अर्मलाकोट मन्दिरबाट क्यामेरा रोल गरेको निर्माण टोलीले ३७ दिन लगाएर सुटिङ पूरा गरेको छ। चलचित्रको सम्पूर्ण छायांकन पोखरा वरपरका रमणीय तथा मौलिक बस्तीहरू अर्मलाकोट, धिताल, घार्मी र बगरमा गरिएको छ।

छायांकनका क्रममा निर्माण टोलीले मौसमको ठुलो चुनौती सामना गर्नुपरेको थियो। हरेक दिनजसो पानी परिरहँदा पनि सुटिङलाई निरन्तरता दिइएको थियो भने अन्तिम-अन्तिम तिर लगातार ३० घण्टासम्म पनि छायांकन गरिएको थियो। यस्तो कठिन परिस्थितिमा पनि सेटको माहोल भने निकै रमाइलो र ऊर्जावान रहेको निर्देशक आकास बराल बताउँछन्।

सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको यस चलचित्रमा अभिनेता विजय बराललाई दर्शकले अहिलेसम्मकै फरक र नदेखेको अवतारमा देख्न पाउनेछन्। यद्यपि, निर्देशक बरालले उनको चरित्रको बारेमा भने खुलाउन चाहेनन्।

सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूमा यस चलचित्रको कथा घुमेको छ।

चलचित्रमा विजय बरालका साथै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, राम बाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायतको बलियो अभिनय लाइनअप रहेको छ। मोती कार्की कार्यकारी निर्माता रहेको यस चलचित्रलाई निशाल पौडेलले खिचेका हुन्। चलचित्रमा चानस पुन मगरको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन, अङ्कित बाबु अधिकारीको सङ्गीत र युवराज काफ्लेको शब्द रचना रहेको छ। यो चलचित्रलाई काठमाडौं उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले वितरण गर्नेछन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link