बिर्तामाेड । संगीतकार हरि लम्सालको डेब्यू निर्देशकीय फिल्म ‘बाः एक योद्धा’ कृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गते (४ सेप्टेम्बर)बाट प्रदर्शनमा आउने भएको छ । निर्माता कम्पनी आर्टिस्टिक इन्टरटेनमेन्टले थिम पोस्टरमार्फत प्रदर्शन मितिबारे जानकारी दिएको हो । उक्त मितिमा अरु दुई फिल्म ‘ककाकिकी’ र ‘स्टेशन’ पनि प्रदर्शन हुँदैछन् ।
यस फिल्ममा अभिनेत्री द्वय झरना थापा र सुहाना थापाले मुख्य भूमिकामा अभिनय गरेका छन् । पहिलो पटक यी आमाछोरी फिल्ममा एकसाथ देखिन लागेका हुन् । निर्देशक लम्सालका अनुसार फिल्ममा पनि उनीहरू आमा-छोरीको भूमिकामा प्रस्तुत भएका छन् । अभिनेता दिव्यदेव पन्तको पनि फिल्ममा मुख्य भूमिका रहेको छ ।
निर्देशक लम्साल स्वयंको कथा तथा पटकथा रहेको यस फिल्मका निर्माता वसन्त लम्साल हुन् । संगीतकार तथा गायक समेत रहेका उनले यसअघि विपिन कार्की र उपासना सिंह ठकुरीलाई लिएर फिल्म ‘कर्मा’ निर्माण गरेका थिए । ‘बाः एक योद्धा’ उनको दोस्रो निर्माण हो । यसमा शिवराम श्रेष्ठको छायांकन रहेको छ भने मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् ।
यो फिल्मले बाबुको महत्त्व र योगदानलाई दर्शाउने निर्देशक लम्सालले बताए । एक बाबुले आफ्नो सन्तानको भविष्यका लागि गर्ने अथक त्याग, जीवनभर झेल्ने चुनौती र संघर्षलाई फिल्मको मुख्य कथावस्तु बनाइएको उनको भनाइ छ । उनका अनुसार ग्रामीण र सहरी समाजमा एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारीको कथालाई फिल्ममा पेस गरिएको छ ।

