बिर्तामाेड । यस वर्षको दशैंको फूलपातीमा प्रदर्शनको लक्ष्यसहित निर्माण गरिएको फिल्म ‘झिँगेदाउ २’ अब संविधान दिवसको अवसर पारेर असोज २ गतेबाट प्रदर्शनमा आउने भएको छ । संविधान दिवस असोज ३ गते छ । मंगलबार निर्माता कम्पनी कपनगढी फिल्म्सले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको नयाँ प्रदर्शन मितिबारे जानकारी दिएको हो ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू केकी अधिकारी, महेश त्रिपाठी, आँचल शर्मा, कुशल विष्ट र हिउँवाला गौतम देखिएका छन् । उनीहरूको अनुहारमा चरम निराशा र पीडा झल्किएको छ । महेशको हातमा देखिएको हिउँवालाको तस्वीरले उनी आमाको खोजीमा निस्किएको संकेत गर्छ । अघिल्लो भागमा हिउँवाला आश्रम गएसँगै फिल्म सकिएको थियो ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्मको कथा निर्देशक देउजा स्वयंको हो भने पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले तयार पारेका हुन् ।
कपनगढी सिनेमा र फिल्म क्रु नेपालको ब्यानरमा निर्माण भएको फिल्ममा बिष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी. गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेलको संगीत रहेको छ । फिल्ममा सुलभ प्रतीक र समीक्षा देउजा निर्मातामा छन् । यस फिल्मले अंशको विवादले छिन्नभिन्न भएको परिवारको कथा पेस गरेको छ ।

