- एकराज प्रधान
कविताप्रति ममा खासै आकर्षण थिएन तर कथा भनेपछि हुरुक्कै । स्कुले जीवनमा कविताको अंश राखेर ‘भाव विस्तार गर’ भन्ने प्रश्नहरु साह्रै झिँजो लाग्ने । विम्ब प्रतीकको जोड घटाउ, छन्दका हिसाबहरु दिमागले फिटिक्कै नभ्याउने । त्यही हिसाब नबुझेकाले होला कविता सुन्ने कार्यक्रमहरु मेरा लागि दिक्क लाग्दो हुन्थ्यो । कविहरु अनेक भावभङ्गीमा कविता सुनाइरहेका हुन्छन्, मेरो दिमाग अन्तै दगुरिरहेको अवस्था हुन्थ्यो । तर, आजभोलि कवितासँग प्रेम भएको छ । खासगरी नवराज पराजुलीका कविताहरु सुन्न । उहाँको कविता वाचन शैलीसँग । मलाई लाग्छ पूरै किताब नहेरीकनै वाचन गर्न सक्ने उहाँको त्यो कला संसारमै दुर्लभ होला । श्रोताहरु पैसा तिरेरै उहाँका कविता सुन्छन् । कविताको पनि ‘कन्सर्ट’ हुन्छ भन्ने थालनी गर्ने सायद उहाँ नै हुनुपर्छ ।

शुक्रबार बिर्तामोडको होटल किङ्सबरी परिसरमा निक्कै ठूलो चहलपहल थियो । विद्यार्थी, साहित्यप्रेमीहरुले हल खचाखच भरिएको थियो । धेरैको हातहातमा निलो रङले कभर गरिएको पुस्तक थियो – ‘सगरमाथाको गहिराइ’ । यसो हुनुको विशेष कारण थियो – यो पुस्तकको हेप्पी बर्थ डे । अर्थात्, २०७३ मा प्रकाशित भएको ‘सगरमाथाको गहिराइ’ले एक दशक पार गरेको छ । यही सन्दर्भ पारेर नेपाली साहित्य डटकमको आयोजनामा बिर्तामोडमा ‘नवराज पराजुलीको झापा कविता कन्सर्ट’ आयोजना गरिएको थियो ।
नवराज पराजुलीको कविता कन्सर्ट भन्ने बित्तिकै मलाई हरेक काम थाती राखेर जाउँ जाउँ लाग्छ । त्यसको एउटै कारण हो – कन्सर्टभन्दा बढी मेडिटेसन अथवा ध्यानमा बसेझैँ लाग्नु । बोलीको मिठाससँगै शब्दको गहिराइमा डुब्दा मिल्ने छुट्टै आभाष, जसलाई शब्दमा बयान गर्न म यहाँ सकिरहेको छैन । उहाँको अधिकांश कविताहरु सम्बन्धसँग जोडिएका छन्, जीवनसँग बाँधिएका छन् । समयप्रतिको बुझाइ र मृत्युबोधबाटै मानिसले बाँच्न जान्दछ । त्यससँगै सम्बन्धप्रतिको बुझाइ जरुरी हुन्छ । उहाँको हेब्बी बड्डे, रुख, मैझारो, बुबा जस्ता कविताहरुले सम्बन्धको गहिराइ बुझाउँछ । कवितामा भेटिने सम्बन्धप्रतिको दृष्टिकोणबाट म अत्यन्तै प्रभावित छु । जसमा सरल भाषा, मनछुने शैली छ । कविताभित्रै कथा छ । बुझ्न सके अथाह छ ।
युट्युबमा उहाँको कविता सुन्ने धेरै हुनुहुन्छ होला । म थोरै यहाँ लाइभ कन्सर्टको अनुभूति बाँड्न चाहन्छु । कन्सर्ट भन्ने बित्तिकै ब्याकग्राउन्डमा लाउड म्युजिक भन्ने पनि बुझाइ हुन सक्छ । तर, यहाँ त्यस्तो हुँदैन । मधुरो आवाज, शान्त वातावरण । अनुशासनको मामलामा अलि कडा । कन्सर्ट सुरु हुनु अघि केही नियमहरुको पालना गर्न आह्वान हुन्छ । मोबाइल साइलेन्ट, फोटो भिडियो गर्न पाइँदैन । खासखुस गर्न, बिचमा उठेर हिँड्न पाइँदैन । कविता सुन्नको लागि सुरुमा माहोल तयार पारिन्छ । ‘पिन ड्रप साइलेन्ट’ भएपछि मात्रै कविता वाचन आरम्भ हुन्छ ।
यसपालि कवितावाचन सुरु हुनु अघि उहाँको ‘तुलना’ कवितामा राजेश बस्नेतले बेजोड नृत्य प्रस्तुत गर्नुभएको थियो । जसलाई ‘लिरिकल डान्स’ भन्दा फरक नपर्ला । शब्द-शब्दलाई न्याय गर्ने कोसिस उहाँले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालनको जिम्मेवारी सुनिता तामाङले लिनुभएको थियो भने साउन्ड पार्टनरमा एनएसएस इभेन्ट्स र डिजिटल पार्टनरको रुपमा इ ग्लोबल मिडिया हाउसको सहयोग रहेको थियो । उद्घोषकबाट यिनै केही सीमित जानकारी बाहेक न औपचारिक कार्यक्रम, न लम्बेतान आतिथ्यता ग्रहण । सिधा कविता वाचन सुरु हुन्छ ।
कविता सुनाउने तालिका लगभग फिक्स नै हुन्छ । कविलाई सुनाउन मन लागेका कविताहरुबाट सुरु भएको कविता यात्रा पछि श्रोताको ‘फर्माइस’का केही कविताहरुसँगै सम्पन्न हुन्छ । यसक्रममा बीचबीचमा उहाँका जोकहरुमा हाँस्न पाइन्छ । कविताका घत लाग्दा लाइनहरुमा ताली बजाइन्छ । जब कविताले छुन्छ, कतिपय दर्शक रुन्छन् । ‘रुनु’ नराम्रो कुरा होइन । जीवनका कतिपय मोडहरुलाई कविताका शब्दहरुले जोड दिएपछि आँखा आफैँ रसाउँछ । हामी मान्छे हौँ, मान्छे भएपछि जीवनमा गल्ती-कमजोरीहरु हुन्छन् । परिस्थितिको बन्धनले अकरिलो अवस्थामा मान्छेलाई र्पुयाउँछ । बाँधिएको मनलाई शब्दले तरङ्गित बनाएपछि आँशु पोखिनु स्वाभाविक हो ।
यसपालि कवि पराजुलीले एउटा मन्त्रोच्चारणपछि ‘हेब्बी बड्डे’ कविताबाट कविता वाचन आरम्भ गर्नुभयो । त्यसपछि ‘स्कूल’ शीर्षकको नयाँ कविता सुनाउनुभयो । ‘खेल’मा सधैँ जित्ने विद्यार्थीहरु अरु विषयमा किन फेल हुन्छन् भन्दै कविले हाम्रो परम्परागत शिक्षा प्रणालीमाथि कडा प्रश्न गर्नुभएको छ । मान्छेको क्षमतालाई कतै स्कुलले सीमित घेरामा बन्देज त गरेको छैन भन्ने चिन्ता यस कवितामा भेटिन्छ ।
कविता कन्सर्टमा केवल कविता मात्रै सुन्न पाइँदैन, कविका भोगाइका किस्साहरु पनि सुन्न पाइन्छ । आफूले सुनाउन लागेको कविता कसरी जन्मियो भन्ने बारेको किस्सा कविता जत्तिकै प्रिय लाग्छन् ।
‘सगरमाथाको गहिराइ’ दशौँ वर्ष पार गरिरहँदा कवि पराजुलीले चाँडै अर्को पुस्तक आउने घोषणा पनि गर्नुभएको छ । पुस्तकको नाम उहाँले सार्वजनिक रुपमा नखुलाए पनि पाठकलाई हस्ताक्षर गर्दै दिनुभएको पुस्तकहरुमा देख्न सकिन्छ – ‘कथामा भेटौँला’ । अर्थात् उहाँको दोस्रो कृतिको नाम ‘कथामा भेटौँला’ हुन सक्ने अनुमान गर्न सकिन्छ । यही शीर्षकको कविता सुनाउँदै उहाँले कार्यक्रमको बिट मार्नुभएको थियो । ‘कथामा भेटौँला’ कवितामा मृत्युबोध गर्न सकिन्छ । जीवन एक दिन टुङ्गिन्छ । आफूले असाध्यै प्रेम गरेकाहरुसँग पनि छुट्नु पर्छ । छुट्दै गर्दा हामी के चाहन्छौँ – के चाहनु पर्छ ? उहाँका कविताहरुमा गहिरा जीवन दर्शन भेटिन्छ । त्यसैले मलाई नवराज पराजुली केवल ‘कवि’ मात्र होइन, एक दार्शनिक लाग्छ ।

